जनतामा वितृष्णा फैलाउन प्रतिक्रियावादीहरु सक्रिय : प्रचण्ड

Puspa-Kamal-Dahal-Prachanda
लाेकपाटी न्यूज

काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी र प्रतिक्रियावादीहरुले चितवन जिल्लालाई अराजकताको केन्द्र बनाउन खोजेको बताएका छन् ।

उनले कम्युनिष्ट पार्टीभित्रको अनमेलका कारण प्रतिगामीले चितवनलाई अराजकताको केन्द्र बनाउँदै लगेको उल्लेख गरे । दशैं तिहारको उपलक्ष्यमा नेकपा चितवनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक द्वनद्वकाे फाइदा प्रतिगामीले उठाउन थालेको बताए ।

उनले भने, ‘डेढ वर्षपछि चितवनमा अराजकता, अस्तव्यस्तता बढ्दै गएकाे छ। कतै देशभरिका प्रतिगामीहरु आएर खेल्ने ठाउँ चितवन बन्ने त होइन भन्ने डर पैदा भएको छ । हामी कम्युनिष्ट पार्टीकै मानिसहरु आपसमा मिलेको देखिएका छैनौं आजभोलि । बरु एकले अर्कालाई कसरी ताक्लोमा पार्ने, कसरी एकले अर्कालाई तेजोबध गर्ने जस्तो गरेको देखिएको छ ।’

उनले चितवनलाई अराजकताको केन्द्र बनाएर पुरै शासन व्यवस्थामाथि धावा बोल्न खोजिएको पनि बताए । उनले भने, ‘प्रतिगामी र प्रतिक्रियावादीहरु आएर पनि चितवन जिल्ला नै अराजकताको केन्द्र बनाउन पाइयो भने त काठमाडौंको शासनप्रति अथवा परिवर्तित संघीय लोकतान्त्र प्रति देशभरिका जनतामा वितृष्णा फैलाउन पाइएला भनेर अन्त सबैतिर छोडेर चितवनै आएर कति गर्न सकिन्छ, कति खेल्न सकिन्छ , यहीँ नै आएर खेल्न खोजेको पनि देखेका छौं।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले त्यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान अञ्जानमा साथ दिएको पनि टिप्पणी गरे । ‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्’ उनले भने, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहँदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’

प्रचण्डले रवि लामिछाने समर्थकको आन्दोलन, ज्ञानेन्द्र शाहीको अभियान र कुटपिट तथा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार पराजयसँगतर्फ संकेत गर्दै यसो भनेका हुन् ।