धनकुटाको हिलेबजारमा बुद्धपार्क निर्माण

लाेकपाटी न्यूज

काठमाडौं, ३० असोज। धनकुटा ( धनकुटा नगरपालिका १) हिलेबजारको न्यूरोडमा निर्माण गरिएको बुद्धपार्कको बिहीबार उद्घाटन गरिएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग र्पुयाउने उद्देश्यले धनकुटा नगरपालिका कार्यालयको ११ लाख र १ नम्बर वडा कार्यालयको ५ लाख गरी १६ लाख रुपैयाँ बराबरको लगानीमा पार्क निर्माण गरिएको हो।

झण्डै अढाई वर्ष लगाएर निर्माण गरिएको बुद्धपार्कको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गरेका हुन्। बुद्धपार्कको उद्घाटन गर्दै नगर प्रमुख तामाङले धनकुटाको हिले आफैँमा पर्यटन र व्यापारिक केन्द्रको रुपमा स्थापित भइसकेकाले थप पर्यटक कसरी भित्र्याउने भन्ने उद्देश्यको साथ पर्यटकको गन्तव्यस्थल बनाउन बृद्धपार्क निर्माण गरिएको बताए।

हिलेबजारलाई सुन्दर र सम्मुनत बनाउनको आउँदो आर्थिक वर्षमा बजारका विभिन्न ठाउँमा अरु पार्कहरु पनि निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने बताउँदै प्रमुख तामाङले वडाको विकासको लागि वडामा छुट्टिएको बजेट र नगरपालिकाको सोझै लगानीबाट पार्क बाहेक अन्य भ्यूटावर लगायतका पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भौतिक पूर्वाधारहरु निर्माण गरिने जानकारी दिए।

वडा नम्बर १ का वडाध्यक्ष निरेन तामाङले वडा कार्यालय, नगरपालिका र स्थानीय जनश्रमदान गरी करिब २० लाखको लगानीमा बुद्धपार्क निर्माण गरिएको बताउँदै पार्क निर्माणले हिलेबजारको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। धनकुटा नगरपालिका र वडा कार्यालयको आर्थिक वर्ष २०७४र०७५, ०७५र०७६ को बजेट कार्यक्रम अनुरुप बुद्धपार्क निर्माण सम्पन्न गरिएको थियो।

प्रदेश नम्बर १ कै पर्यटकीय गन्तव्यस्थलको रुपमा स्थापित तोङ्वा र सुकुटीको शहर हिलेबजारले पर्यटकहरुलाई तान्ने गरेको छ। पहाडी क्षेत्रकै प्रमुख प्रवेशद्धारको रुपमा रहेको र धनकुटा बजारबाट १३ किलोमिटर उत्तरमा रहेको हिलेबजार हुदै संखुवासभा, तेह्रथुम, पाँचथर तथा भोजपुरलगायतका जिल्ला जान सकिन्छ।

बादलुको घुम्टोसँगै छिन छिनको मौसम परिवर्तनका कारण रम्न रमाउन सकिने हिलेबजार पछिल्लो समयमा आएर आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्यस्थलको रुपमा स्थापित हुँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्