काठमाडौं,३० असोज। सडकमा दिनानुदिन बढिरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न पोखरा महानगरले छुट्टै पार्किङस्थल बनाइसकेको छैन्। पार्किङको समस्यालाई व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अगाडि नै अस्तव्यस्त पार्किङ हुने गरेका छन्।
मुख्य सडकमा बढी जाम हुन्छ भनेर शाखा बाटो हिँड्दा पनि अचेल छिचोल्न गाह्रो छ। जिल्ला यातायात कार्यालयको प्रतिवेदन अनुसार पोखरामा दैनिक १ लाख ४० हजारभन्दा बढी सवारीसाधन गुड्छन्। निश्चित पार्किङ स्थल बनाउने र पार्किङलाई व्यवस्थित गराउनेतर्फ महानगरले उचित योजना ल्याउन सकिरहेको छैन्।
महानगरले उल्टै सडकमै पार्किङ गर्न टेन्डर आह्वान गर्ने गरेको छ।दैनिक थेग्नै गाह्रो हुने साना तथा ठूला सवारी साधनको आवतजावत र उनीहरुले निम्त्याउने पार्किङ समस्याबारे महानगरले ध्यान दिन सकेको छैन्। पोखरा मुख्य बजार क्षेत्रको सवारी चाप र पार्किङ समस्यालाई कम गर्न महानगरले प्रदर्शनी केन्द्र नजिक पार्किङ क्षेत्र बनाएको छ। तर, वैज्ञानिक तवरले व्यवस्थित नगर्दा त्यसले उल्टै ‘तनाव’ दिइरहेको सवारी धनी बताउँछन्।
सडकमा पार्किङ गर्न पटक–पटक टेन्डर आह्वान गर्दा पनि अत्यन्त न्यून आवेदन पर्छ। अहिले महानगरले सडकमै पार्किङ गर्न छैठौंपटक सूचना आह्वान गरेको छ, जसमा २ वटा कम्पनीले मात्र आवेदन दिएको पोखरा महानगरपालिकाका लेखा अधिकृत छवि शर्मा बताउँछन्।
७ करोडको टेन्डर ३ करोडमा १ महानगरले पहिलो पटक ७ करोड रुपैयाँमा टेन्डर आह्वान गरेको थियो। तर, पहिलो पटक कुनै टेन्डर परेन। टेन्डरको समय गुज्रिसकेपछि दोस्रो र तेस्रो पटक फेरि उही मूल्यमै टेन्डर आह्वान र्गयो। दोस्रो पटक पनि कुनै कम्पनी सडकमा पार्किङ शुल्क उठाउन इच्छुक देखिएनन्।
‘बोल रकम’ बढी भएकाले टेन्डर नपरेको निश्कर्ष निकाल्दै महानगरले चौथोे पटक ३० प्रतिशत घटाएर टेन्डर आह्वान र्गयो। न्यूनतम् मूल्य ५ करोड ३९ लाख रुपैयाँ तोकेर आह्वान भएको टेन्डरमासमेत कुनै कम्पनीले आवेदन दिएनन्।
पोखरामा फेरि सडकमै पार्किङ ठेक्का दिने तयारी चौथो पटक महानगरले पहिले टेन्डर गरेको टेन्डरमा २० प्रतिशत मूल्य बढाएर फेरि टेन्डर आह्वान र्गयो।
अघिल्लो पटक महानगरले २ करोड ८८ लाख रुपैयाँमा सम्झौता गरेको थियो। सोही सम्झौतामा आधारित रहेर २० प्रतिशत बढ्ने गरी ३ करोड ६ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो। तर चौथो पटकको महानगरको योजनामा पनि कोही जोडिन चाहेनन्। पाँचौ पटक कम्पनीको आशयपत्र माग गरेर महानगरले सूचना निकाल्यो। पाँचौ पटकको सूचनामा ३ कम्पनी महानगरसँग काम गर्न इच्छुक देखिए। तर, उनीहरुसँग पनि सम्झौता हुन सकेन्।
आवेदन दिएका ३ कम्पनी नियमसंगत नभएको भन्दै सम्झौता हुन नसकेको अधिकृत शर्मा बताउँछन्। ‘आवेदन दिएका ३ वटा कम्पनीमध्ये २ वटा कम्पनीले पछि आएर आफैं काम गर्दैनौं भने। अर्को कम्पनीले बैंक धरौटी राख्न नमानेपछि सम्झौता हुन सकेन,’ उनले भने।
अहिले महानगरले छैठौं पटक टेन्डर आह्वान गरेको छ। छैठौं पटकको टेन्डरमा २ वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका छन्। जसमध्ये सुस्मिता कन्स्ट्रक्सनले ३ करोड ३० लाखमा काम गर्न प्रस्ताव गरेको छ भने सबस्वीकृति कम्पनीले करोड ६ लाखमा आवेदन दिएको छ।
महानगरका लेखा अधिकृत छवि शर्मा दुवै कम्पनीलाई मूल्यांकन समितिले छनोट गरिसकेको बताउँछन्। ‘मूल्यांकन समितिले दुवै कम्पनीलाई छनोट गरेको छ। अब महानगरको बैठकमा पेश गर्छौ। बैठकको निर्णयपछि मात्रै ती कम्पनीले सडक पार्किङ शुल्क उठाउन पाउने वा नपाउने निश्चित हुन्छ,’ उनले भने। पहिलो पटक ७ करोड रुपैयाँमा निकालेको टेण्डर छैठौं पटकसम्म आइपुग्दा ३ करोड रुपैयाँमा झरेको हो।
पहिलेकै कम्पनीबाट पैसा असुल्न बाँकीखरा महानगरले पोखराका मुख्य क्षेत्रमा पार्किङ व्यवस्थित गर्न र शुल्क उठाउन २०७३ सालमा अशेष निर्माण सेवालाई जिम्मा दिएको थियो। त्यसबेला महानगरले २ वर्षको सम्झौतासहित २ करोड ८८ लाखमा उक्त कम्पनीलाई टेन्डर दिएको थियो। जसको अवधि सकिएकोमात्रै १ वर्ष बितिसकेको छ।
महानगरले उक्त कम्पनीबाट अहिलेसम्म १ करोड २५ लाख उठाउन बाँकी छ। महानगर राजश्व शाखाका अनुसार उक्त कम्पनीबाट पैसा असुल्न ‘प्रक्रिया’ सुरु भइसकेको छ। ‘महानगरले कम्पनीको बैंक ग्यारेन्टीवापतको १ करोड रुपैयाँ जफत गरिसकेको छ,’ लेखा अधिकृत शर्माले भने, ‘बाँकी २५ लाख उठाउन तनहुँ छाप्देमा रहेको कम्पनीको जग्गा लिन करिब १ महिनाअघि उच्च अदालतले फैसला गरिसकेको छ।’
कम्पनीले धरौती राखेको तनुहँ छाप्देको जग्गा तेस्रो पक्षको भएकाले उक्त पक्षले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेकाले काममा ढिलाइ भइरहेको अधिकृत शर्माले प्रष्ट्याए। उनले भने, ‘जिल्ला अदालतले कारण मागेको थियो। महानगरले बुझाइसकेको छ। हामीले जग्गा लिलामी गर्न पाउने फैसला उच्च अदालतले गरिसकेकाले पनि फरक नपर्ला,’ उनले भने, ‘कम्पनीसँग बाँकी भएको रकम केही समयमै सबै जफत गरिसक्छौं ।’
कहाँ कति पार्किङ शुल्क ?
महानगरको टेन्डर सूचनाअनुसार महानगरभित्र सेती नदी पुल पृथ्वीचोक, सभागृह चोक जिरो किलोमिटर, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, सिद्धार्थचोक, नागढुंगालगायत ठाउँमा मिनी बस, माइक्रो बस पार्किङ गरेबापत प्रतिघन्टा ३० रुपैयाँको दरले उठाउन पाउने छ। कार, जिप प्रतिघन्टा २० र मोटरसाइकल स्कुटर प्रतिदिन १० रुपैयाँका दरले ठेक्का लिने कम्पनीले पार्किङ शुल्क उठाउन पाउनेछ।
अन्य सडकअन्तर्गत अमरसिंह चोकदेखि पृथ्वीचोकसम्म, मुस्ताङचोकदेखि बिरौटा हुँदै छोरेपाटनसम्म, पालिखेचोकदेखि नदीपुर बगर हुँदै केआईसिंह पुलसम्म लगायतका ठाउँमा पार्किङ शुल्क उठाउन पाइने छ। उक्त ठाउँमा ठूला बस–ट्रकको प्रतिघन्टा ३० रुपैयाँ, मझौला मिनीबस, माइक्रोबस प्रतिघन्टा २० तथा कार, जिप, भ्यान प्रतिघन्टा १५ रुपैयाँ र मोटरसाइकल, स्कुटरको प्रतिदिन १० रुपैयाँ पार्किङ शुल्क उठाउन पाउनेछ।



लाेकपाटी न्यूज
