काठमाडौं, २९ असाेज। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले नेपालमा भाेकमरीकाे अवस्था नभएकाे बताएका छन्।
विश्वका कतिपय मुलुक अझै पनि पौष्टिक आहार र भोकमरीको चपेटा भए पनि नेपालमा त्यस्तो अवस्था नरहेको बताएका छन्। बुधवार १३ औं विश्व खाद्य दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।
खाना नपाएर कोही नमर्ने बताउँदै खनालले भने, ‘बरु अव्यवस्थित र धेरै खाना खाएर मान्छे मर्न सक्छ’ । उनले शरीरलाई पुग्ने गरी खान नजान्नेहरु धेरै भएको बताए । ‘दीर्घजीवन हुनुपर्छ’ उनले भने ‘त्यसका लागि जमिन पनि स्वच्छ हुनुपर्छ’ ।
मन्त्री खनालले नेपालमा मात्र नभएर दक्षिण एसियामै खानाकाे अभाव भन्दा पनि खानाकाे व्यवस्थापन मुख्य समस्या बन्दै गएकाे बताए।
उनले भने, ‘नेपालमा जस्तै दक्षिण एसियामा भोकमरीभन्दा खानाको व्यवस्थापन समस्या बन्दैछ । नेपाल अहिले जुन ठाउँमा छ त्यसबाट अघि बढ्न सम्बन्धित मन्त्रालयले केन्द्रीकृत योजना बनाएर अघि बढ्नुपर्छ । नेपालबाट विगतदेखि विश्वमाझ झण्डा उठाइरहेका छौं। त्यसलाई निरन्तरता दिँदै खाना फ्याँक्ने परिपाटी बन्द गरौं र त्यसको सन्देश विश्वलाई दिउँ’ ।



लाेकपाटी न्यूज

