एनआरएनए निर्वाचन: पन्त र आचार्यको प्यानलमा को-को ?

लाेकपाटी न्यूज

काठमाडौं, २९ असोज। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ। संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो।

गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन्। निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ।

साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन्। मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ। विद्युतीय मतदान भएकाले आज नै सम्पूर्ण नजिता आइपुग्ने छ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन्। आचार्यले सोमबार दिउँसो नै पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका थिए। पन्तले गोप्यरुपमै आफ्नो प्यानललाई अन्तिम रुप दिएका छन्।

पन्त समुह

दुई/दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनी निवासी व्यवसायी कुमार पन्तले यसपटक अध्यक्षको दाबी गरेका छन्। उनको समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन्।

खुल्लातर्फ उपाध्यक्षमा ४ पद रहेकाले श्रेष्ठ र अधिकारीमा कसलाई अघि लैजानेबारे पन्त समूहमा अझै पनि छलफल चलिरहेको कुमार पन्त निकटस्रोतको भनाइ छ। महिला उपाध्यक्षमा पन्त समूहबाट रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिने भएकी छिन्।

पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मालाई अघि सारेको छ। सचिवमा अमेरिका निवासी गौरी जोशीबारे निर्णय गरेको भए पनि शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एकलाई उतार्ने प्रयास भइरहेको बताइन्छ। एनआरएनए विधानअनुसार २ जना सचिवमा निर्वाचित हुनेछन्।

पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन्। पन्त समूहबाट सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन्।

तर, अन्तिम समयमा आएर दाहाल वा गौतम मध्ये एकलाई अघि बढाउने निर्णयमा पुगेको पन्त निकटस्थहरुको भनाइ छ।

आचार्य समूह

बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन्। प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ।

आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ।

यस्तै आचार्य समूहबाट महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङलाई अघि सारेका छन्। गुरुङ एनआरएनएकी वर्तमान सचिव हुन्।

यस्तै वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले आचार्य समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। अन्य पदका उम्मेदवारहरुलाई भने आफूलाई सघाउने शर्तमा आन्तरिक सहमति भएको आचार्य निकटस्थ स्रोतको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्