पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री ओली

KP Sharma Oli
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २८ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रयोग भएका भाषामा असन्तुष्टि जनाएका छन्। उनले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेमा असन्तुष्टि व्यक्त गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सभ्यताका पर्खालहरु बाग्मतीमा फालिए। शिष्टता, मर्यादा केही पनि छैन। पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन्।’ उनले विकसित देशको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै भाषा र संस्कृति नबिर्सन सचेत गराए।

उनले भने, ‘अंग्रेजीको ‘यू’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईँ भन्न गाह्रो लाग्यो। किनभने पैसावाला, डलरवाला, ‘यू’ वालाहरु ‘यू’ ले काम चलाउँछन्। किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्‍या छ। सानालाई तिमी भन्ने ठूलालाई तपाईँ भन्ने स्वभाविक हो। भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ, आफ्नो मर्यादा हुन्छ।’

नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भए पनि अझै पनि थिति नबस्दाका ‘धङधङीहरु’ कायमै रहेको टिप्पणी उनले गरे। उनले भने,‘परिर्वतन भयो। थितितर्फ हामी गयौँ। थिति नबस्दाका धङधङीहरु छँदै छन्। जसलाई फेरि हामी हिजोकै आदत अथवा हिजोका आदतले परिर्वतित सर्न्दभका छुटहरुलाई बेठिक ढंगले बुझ्ने प्रवृति पनि छँदै छ। आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ। किनभने यसले अबको बाटो के हो भनेर जसरी समग्रतामा समाउन पर्ने त्यो अलि समात्न सकेको छैन।’

दक्षिण एसियाका कतिपय देशहरुमा नागरिकको सार्वभौम सत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको, बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अबलम्बन गरी राजनितिक, आर्थिक अवस्था सुदृढ गर्दे विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको चर्चा पनि उनले गरे।