‘अबको समाजवाद वर्गीय हुँदैन’

Bamdev Chhetry
समाजवादको पहिलो चिन्तनधारा ‘युरोपियन समाजवाद’ भन्ने गरेको इतिहास छ। आधुनिक युरोपमा देखापरेको ‘फेबियन समाजवाद’का कैयौँ विशेषता युरोपियन समाजवादी धारासित मिल्दाजुल्दा छन् । यो आध्यात्मिक कम्युन प्रणाली जसमा मीठा कल्पना, नैतिक उपदेश, भद्रता, आध्यात्मिकता, आदर्श, सादा जीवनको कल्पना थियो। त्यसलाई समाजवादी चिन्तन भन्ने गरिन्थ्यो। तर त्यो सफल हुन सकेन।
लाेकपाटी न्यूज
  • वामदेव क्षत्री

अहिले नेपालमा समाजवाद कस्तो र कसरी बनाउने भन्नेबारे बहस हुन थालेका छन्। समाजवादको कार्यनीति बनाउने जिज्ञाशा र प्रतिक्रिया हुनु स्वभाविक हो। पूर्वी युरोप सोभियत सङ्घ र चीन हुँदै उत्तर कोरियासम्म सबैतिर असफल भएको समाजवादी दर्शन फेरि किन र कसरी भन्ने प्रश्न उठ्नु स्वभाविक हो। समाजवादको एउटै र सर्वसम्मत अवधारणा संसारभर कहीँ पनि छैन। फरक फरक अवस्थामा यसको फरक फरक अर्थमा प्रयोग भएको पाइन्छ।

समाजवादको इतिहासलाई हेर्ने हो भने यसअघिका सबै तीन समाजवाद फरक छन् । कुनै जमानामा समाजवाद विद्रोही शक्तिको प्रतीक थियो। आज हामी नयाँ संसारमा छौँ। कार्ल मार्क्सले कम्युनिस्ट घोषणापत्र लेखेको १७१ वर्ष पुगेको छ। यस बीचमा संसारमा थुप्रै परिवर्तन भएका छन्। उत्पादक शक्तिमा परिवर्तन आएर विज्ञान र प्रविधिको सर्वाधिक महत्वपूर्ण निर्णयले परिवर्तन ल्याएको छ। मानव समाजको आधारभूत संरचनामा परिवर्तन आएको छ। मानवको श्रमशक्ति उत्पादन क्षेत्रबाट विस्थापित हुँदैछ। समाजको वर्गीय संरचना बदलिँदै छ, सर्वहारा वर्ग र पुँजीपति वर्गको सङ्ख्या घटेर मध्यम वर्गमा रूपान्तरित हुँदैछ। पुँजीवादको स्वरूपमा पनि परिवर्तन भएको छ। संरक्षणवादी पुँजी जसलाई व्यापारी पुँजी पनि भनिन्छ, त्यो परिवर्तन भएको छ। प्रतिस्पर्धावादी, जसलाई औद्योगिक पुँजी भनिन्छ, त्यसको रूप पनि परिवर्तन भएको छ। त्यसपछि विकास भयो एकाधिकार पुँजी।

अहिले तीन चरणबाट परिवर्तन भएर एकीकृत पुँजीवाद बनेको अवस्था हो। जुन अहिले भूमण्डलीकृत पुँजीवादको रूपमा विश्वमा व्याप्त छ। यसको आधार विज्ञान, प्रविधि हो। यो भूमण्डलीकृत पुँजीवादको अवस्थामा क्रान्तिकारी, विद्रोही छ कि छैन ? अब ल्याउने समाजवाद कसरी ल्याउने बहस यहीँनेर केन्द्रित छ। किनकि सङ्घर्ष र क्रान्तिका पुराना विधिहरू प्रवाहहीन भएका छन्। सशस्त्र सङ्घर्ष, जनआन्दोलन र निर्वाचन प्रणालीबाट केही आंशिक सफलता प्राप्त भए पनि मूल लक्ष्य समाजवादको नयाँ बाटो कसरी तय गर्ने भन्ने बहस नै छ।

नेपालमा समाजवाद स्थापना गर्ने लक्ष्य स्वागतयोग्य हो। तर, अब समाजवाद हिंसात्मक क्रान्ति र क्रमिक विकासबाट मात्र हुन सक्दैन। यसको साटो आमूल रूपान्तरणको बाटो नै उपयोगी हुन्छ। यो रूपान्तरण भनेको नागरिकलाई स्वतन्त्र, धनी, खुसी, सुखी र सम्पन्न बनाउने उद्देश्य रहनुपर्छ। निरपेक्ष समानता निरपेक्ष राष्ट्रियकरण र निरपेक्ष सामूहीकरणमा नभएर समृद्धिकरणमा जोड दिनुपर्छ। समाजवाद पुरानो होइन, नयाँ हुनुपर्छ। विगतमा समाजवाद मानव श्रमशक्तिमा आधारित थियो। त्यसबेला मानव शक्ति नै प्रमुख उत्पादक शक्ति थियो। तर, अब विज्ञान प्रविधिमा आधारित नयाँ समाजवाद हुनुपर्छ। तब मात्र भूमण्डलीकृत पुँजीवादलाई प्रश्रय दिन आवश्यक छ। पुरानो समाजवाद राज्यनियन्त्रित थियो र पुँजीपति वर्ग नियन्त्रित थियो। अबको समाजवाद समाज वा जनता नियन्त्रित हुनुपर्छ।

नयाँ समाजवादमा समाज सामाजिक वा जनता नियन्त्रित हुनसक्छ। यो राजनीतिक संसदीय व्यवस्था हुँदैन, जुन जनप्रतिनिधिमूलक व्यवस्थाको आवश्यकता छ। त्यो प्रत्यक्ष जनसहभागितामूलक व्यवस्था हुन्छ। यसैगरी, विगतको समाजवाद राज्यको स्वामित्वमा आधारित थियो। नयाँ समाजवाद समाजको स्वामित्वमा आधारित हुनुपर्छ। समाजमा आवश्यकताको आधारमा समूह निर्माण गर्ने किसान समूह, मजदुर समूह, व्यापारी समूह, उद्योगी समूह आदि गठन गरी तिनै सामाजिक समूहको स्वामित्वका आधार बनाउनुपर्छ।

हामीले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाकालदेखि अहिलेसम्म समाजवादको वकालत गरेका छौँ। विश्वमा दुई सय वर्ष वरपरबाट बहसमा चलेको समाजवाद भनेजस्तो किन बनेन, मार्क्सवादका आधारमा बनेका समाजवाद किन ढले ? बनेका मात्र होइन, बन्दै गरेका समाजवाद पनि किन ढले ? हामी फेरि पनि समाजवाद बनाउनेबारे छलफलमा छौँ। माक्र्सवाद अनुसार मानिस वर्गीय हुन्छ। मानिसमा आफ्नै खालका जातीय अन्तरविरोध पनि छन् र मानिसका मनमा आफैँ पनि अन्तरविरोध छ। हामीले वर्गीय अन्तरविरोध मात्र हल ग¥यौँ भने मानिसका अन्तरविरोधहरू कसरी हल हुन्छन् ? त्यसैले मानिसलाई वर्गमा मात्र विभाजन गरेर समाजवाद बनाउँछौँ भन्ने विषयमा नयाँ ढङ्गले सोच्न आवश्यक छ। हामीले समाजवादका कुरा त गर्यौँ। तर, मानिसको निजत्वको कुरा गरेनौँ। त्यसैले अब बनाउने समाजवाद राज्य नियन्त्रित होइन, समाज नियन्त्रित, जनता नियन्त्रित बनाउनुपर्छ। त्यहाँ उच्चतम लोकतान्त्रिक पद्धतिबाट मात्र समाजवाद निर्माण गर्न सकिन्छ। त्यो समाजवाद वर्गीय हुँदैन, मानवतामुखी हुन्छ। त्यसैले फरक किसिमको छलफलको आवश्यकता छ।

हामीले समाजवादको बहस एक्काइसौँ शताब्दीका विशेषतामा टेकेर गर्नुपर्छ। यसको पहिलो विशेषता भनेको नयाँ वैचारिक सङ्कट र सङ्क्रमणको अवस्था हो। बीसौँ शताब्दीको नवउदारवाद र केन्द्रीकृत समाजवादलाई दुई विचारधाराले विभाजन गरेको छ। नवउदारवादको सङ्कटले समाजमा मानिसलाई धनी र गरिब बनायो र बेरोजगारीको अवस्था बन्यो। सीमित व्यक्ति र कर्पोरेट संस्थाहरूसँग अतिसय सम्पत्ति संकेन्द्रण भयो। अर्कोतिर उदारवाद, नवउदारवाद वा पुँजीवादको विकल्पमा आएको समाजवादले नोकरशाही र अधिनायकवादी रूप धारण ग¥यो र त्यसले लोकतन्त्र, नागरिकका आधारभूत स्वतन्त्रताहरूको रक्षा गर्न सकेन, अर्थतन्त्रलाई गतिशील बनाउन सकेन र समाजलाई गरिबीको स्थितिमा पु¥याउने काम भयो । अब बनाउने समाजवादमा यिनी दुवै विचारको निरपेक्ष अनुयायी भएर अगाडि बढ्न सकिँदैन। अब द्वन्द्ववादी प्रणालीबाट व्यक्ति र समुदाय, निजत्व र सामूहिकता, सार्वजनिक स्वामित्व र निजी स्वामित्व, राष्ट्रियकरण र निजीकरण, राज्यतन्त्र र बजारयन्त्र, सेवा र मुनाफा दुवै पक्षलाई सन्तुलित उपयोग गर्ने जनता नियन्त्रित समाजवादको कल्पना गरेर बहसलाई अगाडि बढाउनुपर्छ।

समाजवादको पहिलो चिन्तनधारा ‘युरोपियन समाजवाद’ भन्ने गरेको इतिहास छ। आधुनिक युरोपमा देखापरेको ‘फेबियन समाजवाद’का कैयौँ विशेषता युरोपियन समाजवादी धारासित मिल्दाजुल्दा छन् । यो आध्यात्मिक कम्युन प्रणाली जसमा मीठा कल्पना, नैतिक उपदेश, भद्रता, आध्यात्मिकता, आदर्श, सादा जीवनको कल्पना थियो। त्यसलाई समाजवादी चिन्तन भन्ने गरिन्थ्यो। तर त्यो सफल हुन सकेन।

अर्को राज्यनियन्त्रित समाजवादको कल्पना मार्क्सवादी विचारबाट जन्म भयो। त्यसको अभ्यास रुस, पूर्वी युरोपमा गरियो। त्यसमा लोकतन्त्रको प्रस्ट ढाँचा देखिएन। लोकतन्त्रका नाममा उनीहरूले जो राजनीतिक प्रणालीको अभ्यास गरे त्यो ढाँचा लोकतन्त्र नै हो कि होइन भन्ने प्रश्न उठ्यो। दक्षिण एसियामा आचार्य नरेन्द्रदेव, डा. राममनोहर लोहिया, जयप्रकाश नारायण र बीपी कोइरालाको विचारको स्रोत यही थियो र प्रजातान्त्रिक समाजवादको वकालत गरे। तर, उनीहरूको कैयौँ व्यवहारवादी र रुढीवादी विचलन थियो। संसारभरका प्रजातान्त्रिक समाजवादीहरूले संवैधानिक राजतन्त्रलाई मान्दथे। भारतमा नेहरू, नेपालका कोइराला जस्ता अनेक राजनीतिक वंशवादको जन्म प्रजातान्त्रिक समाजवादकै आवरणमा थियो। अब यी सबैको अनुभवबाट हामीले हाम्रो देशको वस्तु परिस्थिति अनुसार नेपाललाई सुहाउने र नेपालीलाई समानता, समुन्नत, सुखी र समृद्ध बनाउने नयाँ मोडलको समाजवादको बारेमा बहस चलाएर निष्कर्षमा पुर्याउन आवश्यक छ।

(लेखक नेकपाका केन्द्रीय सदस्य हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्