गृहमन्त्रीले दिए सुरक्षाकर्मीलाई धन्यवाद

pic
लाेकपाटी न्यूज

काठमाडौं, २७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन्।

गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह गरेको बताए।

गृहमन्त्री थापाले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको बताए। चिनियाँ पक्षले समेत भ्रमणका क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराएका थिए।

गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्याउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए।

बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमूख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, नेपाली सेनाका उपरथि शशिचन्द्र बहादुर सिंह लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्