काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । भोलिबाट सुरु हुने सम्मेलन शुक्रबार सम्म चल्नेछ ।
विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई संघको सञ्जालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान बढाउन संस्थागत संरचनाले सहयोग गरेको संघले बताएको छ ।
सन् २००३ देखि २०१९ सम्म आइपुग्दा नेपालीहरु उपस्थित भएका ८० भन्दा बढी मुलुकमा संघको राष्ट्रिय समन्वय परिषदहरु गठन भएर अभियानमा सक्रिय छन्। नवौं विश्व सम्मेलनबाट सबै गैरआवासीय नेपालीहलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न उर्जा प्रदान गर्दै नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रलाई सार्थक गराउने अपेक्षा रहेको संघले बताएको छ ।
सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलन आयोजनाको लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्च स्तरीय आयोजक समिति गठन भइसकेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदेशी, विदेशीगरी २ हजार ५ सयको सहभागीता रहने बताइएको छ । यसै वर्ष संघको नयाँ नेतृत्व पनि चयन हुँदैछ ।



लाेकपाटी न्यूज

