काठमाडौं। सन् १९५३ को जुन १५ मा जन्मिएका सी चिनफिङले १९७४ मा चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । क्रान्तिकारी परिवारमा जन्मिएका सीले मार्क्सवादको गहन अध्ययन गर्नुका साथै सिन्ह्वा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङ गरेका छन्।
सन् २००८ मा उपराष्ट्रपति बनेका सी १४ मार्च २०१३ मा जनवादी गणतन्त्र चीनको राष्ट्रपति बनेका हुन्। पहिलो कार्यकाल पूरा गर्दै सन् २०१८ मा दोस्रो कार्यकाल सुरु गरेका राष्ट्रपति सी जनवादी गणतन्त्र चीनका संस्थापक माओ चे तुङपछिका शक्तिशाली नेताकारुपमा स्थापित भएका छन्।
पहिलोपटक राष्ट्रपति भएपछि उनले देशभित्र पुनःजागरण अभियान सुरु गरे भने अन्तर्राष्ट्रियस्तरमै चीनको समृद्धि बाँड्ने अभियान पनि अघि बढाए। चिनियाँ जनतामाझ निकै लोकप्रिय सीले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएका छन्। चुस्त निर्णय क्षमता भएका सीले चीनको ग्रामीण क्षेत्रको विकासका लागि अघि सारेका योजनाका कारण पनि उनको लोकप्रियता बढ्दो छ।
२०१८ को मार्चमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले दुई कार्यकालमात्रै राष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई संशोधन गरेर सीलाई अरु कार्यकालका लागि पनि बाटो खोलिएको छ। सी विचारधारालाई चीनको संविधानमा नै समेटिएको छ भने उक्त विचारधारालाई विश्वमासमेत विस्तार गर्ने लक्ष्य लिइएको छ।
राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएका नीतिहरुमा पनि परिमार्जन गर्दै आएका छन्। लामो समयदेखि लागू रहेको एक सन्तान नीतिलाई २०१५ मा उल्ट्याइएको छ भने चिनियाँ ऐतिहासिक सम्पदा तथा सांस्कृतिक धरोहरको पुनःजागरणलाई पनि उत्तिकै महत्व दिइएको छ। चिनियाँ शैलीको समाजवादलाई स्थापित गर्दै विश्व भाइचारा बढाउने नीति लिएका सी वर्तमान विश्वका अग्रणी नेतासमेत हुन्।



लाेकपाटी न्यूज

