जनकपुरधाम, २५ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी एक कार्यक्रममा चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्किदा महोत्तरीमा चार जना घाइते भएका छन्।
शुक्रबार समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले गौशाला नगरपालिका वडा नम्बर ८ मा दशैं, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी भएका थिए।
सो कार्यक्रमका लागि चिया पकाउने क्रममा एक्कासी ग्यास सिलिण्डर लिक भइ विस्फोट भएको हो। विस्फोटमा परी सोही वडाका २७ वर्षीय ओम प्रकाश (सरोज) यादव, २८ वर्षीय कौशल यादव, १७ वर्षीय सन्तोष पासवान र १७ वर्षीय रिकेश यादव घाइते भएका छन्।
घाइतेहरुको गौशाला स्थित एक पोलिक्लिनिकमा प्राथमिक उपचारपछि अहिले जनकपुर स्थित राज्यमन्त्रीको निजी अस्पताल जानकी हेल्थ केयरमा थप उपचार भइरहेको छ। उपचाररत ४ जना मध्ये ओम प्रकाश यादव र कौशल यादवलाई गम्भिर घाइते भएका छन्। सन्तोष पासवान र रिकेश यादवको अवस्था भने सामान्य रहेको जानकी हेल्थ केयरले जनाएको छ।



लाेकपाटी न्यूज
