नेपाल–चीन सम्बन्धका ६४ वर्ष : इतिहासमा कहिले के भयो ?

XI jinping and bidhya bhandari
लाेकपाटी न्यूज

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अहिले चर्चामा छ। नेपालको उच्च सरकारी नेतृत्वले कैयौँपटक चीनको भ्रमण गरिरहेका बेला चीनबाट हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।

त्यसकै तयारीस्वरुप सरकारले सडक सिगार्नेदेखि अन्य तयारी समेत गरिरहेको छ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला विभिन्न परियोजनामा हस्ताक्षर गर्ने तयारी समेत छ। सरकारले सीको भ्रमणको सम्पूर्ण तयारी पूरा गरिसकेको छ।

नेपालले सबैभन्दा धेरै महत्व दिएको भनेको केरुङ–काठमाडौँ रेलमार्ग चीनको सहयोगमा बनाउने विषय राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा सम्झौता गर्ने विषयमा परराष्ट्र मन्त्रालयले मस्यौदा तयार गरेको बताइएको छ।

चीन र नेपालका बिचमा दौत्य सम्बन्ध स्थापना भएको ६ दशक बितेको भए पनि पाँचौँ शताब्दीमा चीनका भिक्षु फासियान र नेपालका भिक्षु बुद्धभद्रले दुई देशबीच धार्मिक तथा सांस्कृतिक आदान–प्रदानको शुभारम्भ गरेको देखिन्छ।

तत्कालीन राजकुमारी भृकुटीको विवाह स्रङचङ गम्पोसँग भएपछि नेपाल र चीनबिचको सम्बन्धको शुरुवात भएको मानिन्छ। त्यसयता नेपाल–चीनबीच जनस्तरमा समेत गहिरो सम्वन्ध स्थापित हुँदै गयो। नेपालको उत्तरी क्षेत्रका जनताको चीन र स्वशासित क्षेत्र तिब्बतसँगको सम्वन्ध सदिऔं पूरानो मानिन्छ।

सरकारी तहमा सन् १९५५ मा चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएपछि भने १४ सय १२ किलोमिटर सीमा जोडिएका दुई मुलुकबिचको उच्चस्तरीय भ्रमण हुुनुलाई ऐतिहासिक भनिएको छ।

चिनियाँ प्रधानमन्त्री तहबाट १९५० मा चाउ एनलाईको नेपालमा दुईपटक भ्रमण भएको थियो। सन् १९७८ मा वरिष्ठ नेता देङ सियाओ पिङ, १९८० मा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीको नेपाल भ्रमण अलि बाक्लो भएको इतिहास छ।

सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनपछि सन् २००१ मा प्रधानमन्त्री झु रुङ्जी र २०१२ मा वेन जिया बाओको भ्रमण भएको थियो। ती भ्रमणहरुले नेपाल–चीन सम्वन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

राष्ट्रपतिस्तरको भ्रमणमा भने सन् १९९६ देखि २०१९ सम्म २३ वर्ष हुन सकेन। तर, उच्चस्तरीय भ्रमणहरु भइरहे। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गरेकी थिइन्।

संघीय गणतन्त्र नेपालको स्थापनापछि नेपालका राष्ट्रपतिले पहिलोपटक चीनको राजकीय भ्रमण गरेकी थिइन्। बेइजिङमा राष्ट्रपति भण्डारीले ‘बेल्ट एण्ड रोड’सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सहयोग सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएकी थिइन्। त्यसबाहेक नेपालका प्राय सबै प्रधानमन्त्रीहरुले चीनको भ्रमण गरेका छन्।

सन् १९८० पछिको ३० वर्ष लगातार दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणलाई सरकारले चिनियाँ विकासमा साझेदारी गर्ने सबैभन्दा महत्वपूर्ण अवसरका रुपमा लिएको छ। त्यसमाथि चीनले अघि सारेको बिआरआइ प्रोजेक्टमा नेपाल उच्च प्राथमिकतामा पर्नुले पनि यो भ्रमणको महत्व दर्साउँछ।

विगत ३० वर्षमा चीनले झन्डै ७० देखि ८० करोड मानिसलाई निरपेक्ष गरीबीको रेखाभन्दा माथि ल्याएको छ। नेपाल र चीन जोड्ने ६ वटा नाका रहेको भएपनि दुईवटा नाकामात्रै अहिले सञ्चालनमा छन्। भुकम्पपछि अवरुद्ध बनेको तातोपानी नाका सञ्चालन हुन समेत लामो समयको पर्खाइ भोग्नुपरेको छ। नेपाल र चीनको सम्बन्धकै कडीस्वरुप दैनिक छ वटा उडान नेपालबाट चीनका लागि भइरहेको छ।

चीन र नेपालबीच ल्हासा, छेन्दु, खुन्मिङ, क्वाङ्चौ, सिआन, हङकङबाट काठमाडौंसम्म सिधा हवाइसेवा सञ्चालन भइरहेको छ। प्रत्येक साता दुई देशबीच करिब ९० उडान हुने गरेको छ। चीनले काठमाडौंबाट करिब १५० किलोमिटर उत्तर केरुङसम्म दुई लेनको पक्की सडक ल्याइसक्दा हामीले रणनीतिक महत्वको केरुङ नाकासँग जोड्ने हाम्रो सडकको स्तरोन्नति गर्न सकेका छैनौँ।

पछिल्लो समय चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को नेपाल पक्ष राष्ट्र बनिसकेको छ। काठमाडौंलाई केरुङसँग जोड्ने रेलमार्ग निर्माण, नेपाल–तिब्बत प्रसारण लाइन र किमाथांका–हिले दुई लेनको सडक निर्माण बनाउने विषयमा २ वर्षअघिको ओली नेतृत्वको सरकारले गरिसकेको छ। तर, त्यसलाई अन्तिम रुपमा दिने काम भइसकेको छैन।

बिआरआइमा चीनले नेपालका ९ परियोजना समावेश गरेको छ। आइतबार बिहान नेपाल र चीनको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच हुने वार्तामा बिआरआइका ९ वटा परियोजनामा नै मूख्य रुपमा केन्द्रित रहेर छलफल हुनेछ। त्यसपछि २ देशबीच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्