काठमाडौं। जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ २० घण्टा लामो नेपाल भ्रमणमा आउँदैछन्। सीको भ्रमणलाई लक्षित गरी नेपालले आफ्ना तर्फबाट प्रस्तुत गर्ने प्रस्तावहरुको सूचिसमेत तयार पारिसकेको छ।
राष्ट्रपति सीको भ्रमणमा बिआरआइ अन्तर्गतका प्रोजेक्टहरु मूख्य छनोटमा परेका छन्। त्यसमध्ये केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता। रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रारुपबारे छलफल, गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन, ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता नेपालको प्रस्तावमा छन्।
त्यसैगरी मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान, रसुवागढी–केरुङ सडक स्तरोन्नति, टोखा–छहरे–सुरुङमार्ग हुँदै रसुवागढीसम्म सडक, तातोपानी –काठमाडौं सडक स्तरोन्नति, उत्तर–दक्षिण जोड्ने विराटनगर–किमाथांका–कोसी करिडोर, भैरहवा–कोरला–कालीगण्डकी करिडोर, नेपालगञ्ज–हुम्ला (हिल्सा) कर्णाली करिडोर, पूर्व–पश्चिम रेलमार्गलाई सहुलियत ऋण, वाणिज्य र पारवहन क्षेत्रका सन्धि–सम्झौता कार्यान्वयन गर्न उच्चस्तरीय संयन्त्र नेपालको प्रस्तावमा छन्।
तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रस्ताव गरेको रणनीतिक साझेदारीको मुद्दाले उच्चस्तरीय वार्तामा स्थान पाउला ? यसबारे खास चर्चा भएको छैन। त्यसो त राष्ट्रपति सी चिनफिङ भारत भ्रमणबाट सिधै नेपाल आउने भएका कारण पनि यो मुद्दाको औचित्य बढेर गएको छ।
प्रचण्डले उठाएको त्रिदेशीय साझेदारीको मुद्दामा चीन पहिलेदेखि नै सकारात्मक थियो। तर, भारतले आवश्यक अग्रसरता नदेखाउँदा यस मुद्दाले सम्वादमा सघनता पाउन सकेको छैन। राष्ट्रपति सी नेपाल हुँदै भारत भ्रमण जाने कार्यतालिका बनेको भए नेपालका नेताहरुले यसबारे बढी रुचि राख्थे, जुन रुचि अहिले देखिएको छैन।
ब्रिक्स सम्मेलनका अवसरमा भारतको गोवामा तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रिपक्षीय भेटवार्ता गरी त्रिदेशीय साझेदारीमा सहमति जनाएका थिए।
ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा तीन देशका कार्यकारी प्रमुखबीच भएको भेटमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको प्रस्तावमा सकारात्मक रहेको बताएका थिए। त्यसबखत तीन देशका कार्यकारी प्रमुखबीच आपसी हित र त्रिपक्षीय चासोबारे अनौपचारिक कुराकानी भएको थियो।
भेटवार्तामा तात्कालीन प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएका थिए। प्रचण्डले भनेका थिए, ‘हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौँ, हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं। मैले भेटमा रणनीतिक साझेदारीबारेको विषय महत्व दिएर राखेँ, भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं।’
भेटमा प्रचण्डले गौतम बुद्ध, पशुपतिनाथ र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताएका थिए। प्रचण्डले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको छ भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए।
उक्त भेटमा चिनियाँ राष्ट्रपति सिले देशको भूगोल सानो र ठूलो हुनाले निर्णायक अर्थ राख्दैन भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताएका थिए। सिले चीन र भारतबीचको सम्बन्ध समदूरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गरेका थिए।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सिको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताएका थिए।
राष्ट्रपति सीको भ्रमणमा त्रिदेशीय साझेदारी सरकारी प्रस्तावमा छैन। तीन देशका शीर्ष नेता एकै ठाउँमा उपस्थित नभएको परिस्थितिमा यो मुद्दा औपचारिक प्रस्ताव बन्न सजिलो पनि छैन। तर, नेपालले राष्ट्रपति सीमार्फत् भारतलाई कन्भिन्स गरी त्रिदेशीय साझेदारीमा जान प्रस्ताव गर्न सक्छ। त्यो सम्भावना भने अहिले पनि बलियो नै छ।
आइतबार बिहान राष्ट्रपति सीसँग नेकपाका अध्यक्ष प्रचण्डले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ। उक्त भेटमा प्रचण्डले त्रिदेशीय रणनीतिक साझेदारीका लागि अग्रसरता लिन सीलाई आग्रह गर्नसक्ने बताइएको छ।



लाेकपाटी न्यूज

