सी चिनफिङ भ्रमणले नेपालको भाग्य रेखा कोरिनेछ : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमण सामान्य भ्रमण मात्र नभएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा दिवाकर भुसालको १६ औँ स्मृति दिवसको अवसरमा चितवनको माडीमा आयोजित प्रतिमूर्ति अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले सीको भ्रमणले नेपालको नयाँ भाग्य रेखा कोरिने बताए।

“दुई दिने भ्रमण भए पनि २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल आगमन हुँदैछ”, उनले भने, “यो भ्रमणले समग्र दक्षिण एशियाली राष्ट्रहरुको सम्बन्धलाई थप उचाई दिनेछ। त्यसैले यो भ्रमण सामान्य भ्रमणका रुपमा बुझ्नु हुँदैन।”

अध्यक्ष प्रचण्डले विश्वकै दोस्रो आर्थिक शक्तिशाली राष्ट्र चीनका राष्ट्रपतिको भ्रमणमा हुने सहमतिले नेपालको भावी विकासमा दुर्गामी महत्वको भूमिका खेल्ने विश्वास व्यक्त गरे। नेपाल अहिले समाजवादी युगको तयारी भइरहेको बेला चिनियाँ राष्ट्रपतिको भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको अध्यक्ष प्रचण्डको भनाइ छ।

‘राष्ट्रपति सीले मित्र राष्ट्र भारतको दुई दिने भ्रमण गरी नेपाल आउने भएकाले यसको महत्व ठूलो छ’ प्रचण्डले भने। प्रचण्डले वर्तमान सरकार दुई ठूला आर्थिक शक्तिशाली राष्ट्र चीन र भारतसँग सुमधुर सम्बन्ध कायम गर्न सफल भएको बताए।

सोही कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पाटीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संघीय गणतन्त्रलाई संस्थागत गरी समाजवाद उन्मुख व्यवस्थामा अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे। त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले छिमेकीहरुसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन नेकपा नेतृत्वको सरकार क्रियाशील रहेको बताए।