काठमाडौं, २४ असोज। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। गत असोज १७ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
त्यस्तै, सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापा गरी ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषदका ६ निर्णय
१. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ।
२. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू. २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
३. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।
४. आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।
५. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।
६. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।



लाेकपाटी न्यूज

