दमौली, १६ असाेज। जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभक्षी चितुवा बिहीबार बिहान नियन्त्रणमा लिइएको हो ।
चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमूख केदार बरालले जानकारी दिए । उनका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर खोर बनाइएको थियो । “लामो समयको प्रयासपछि चितुवा खोरमा पर्न सफल भएको छ”, उनले भने, “नियन्त्रणमा आएको चितुवालाई चिडियाखाना वा राष्ट्रिय निकुञ्ज पठाउने तयारी गरेका छाैं।”
बालबालिकालाई आक्रमण गरेर ज्यान नै लिने चितुवा नियन्त्रणमा आएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीयवासी अर्जुन रानाभाटले नरभक्षी चितुवा नियन्त्रणमा आएसँगै सर्वसाधारणले राहत महसुस गरेको जानकारी दिए । चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो ।
वि.सं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।



लाेकपाटी न्यूज

