काठमाडौं। दशैं भनेपछि मनमा एक किसिमको उर्जा पैदा हुन्छ। त्यसमा पनि बाल्यकालमा दशैंको मस्ती नै बेग्लै हुन्थ्यो। नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको पर्व। दशैंका कुरा आउँदा बाल्यकालको सम्झना ताजा हुन्छन्।
कति उल्लास र उमङ्गले भरिन्थ्यो मन। दशैंको तयारीमा घरमा रङ्ग लगाउने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने आदि। दशैं नजिकिदाँ यस्तै सम्झनाहरु ताजा हुन्छन् मस्तिष्कमा।
चीतवनकी अनिता वाग्लेले दशैंको रमाइलो बारे यसरी सुनाइन्। ‘पहिले दशैंमा खाने, रमाइलो गर्ने, विशेष गरी मासु खाने इत्यादि हुन्थ्यो। आफ्नतजनसँग भेट्ने, आफूभन्दा ठूलो मानिसबाट आशिर्वाद लिने, टिका लाउने गरिन्थ्यो। टाउकोमा जमरा राखिन्थ्यो। त्यो खुसिको संकेत हो।’ पहिले आज भोलिको जस्तो सजिलो थिएन नयाँ लुगा पाउँन, पहाडमा चामल पाउँन। तर दशैंमा भने खान पाइन्थ्यो। त्यसबेला लाउने र खाने विशेष खुसी हो।
हिजोको जस्तो अहिलेको आधुनिक समाजमा खाने र लाउनेमा मानिसहरुलाई त्यति इच्छा छैन। अहिले इन्टरनल टुरिज्मको समय छ। बाहिर घुम्न जाने, व्यक्ति विशेष रमाइलो गर्ने प्रचलन बढेको छ।
दशैंमा पहिलेको जस्तो खुसी र उमंग अहिले नरहेको उनलाई महसुस हुन्छ। अहिलेको अर्थ व्यवस्थाले पनि दशैंको महत्व घटेर गएको हो कि जस्तो पनि लाग्छ उनलाई। ‘महंगी बढेर गयो। आधुनिकीकरणले देखावटी संस्कृतिको विकास भयो। लुगा नि यो दिन पर्ने भन्ने हुन्छ। नगरि नहुने जस्तो प्रचलन बस्यो। महंगी बढेर पीडा थपेको छ। त्यसकारण अहिले दशैं खुसिका साथ मनाएको जस्तो लाग्दैन,’ उनले भनिन्।
अहिले महंगीले घर फर्किन गाह्रो छ। ठूलो मानिसबाट आशिर्वाद दिने संस्कार नयाँ पुस्तामा देखिदैँन। उनले भनिन्, ‘त्यो गरेर के हुन्छ र भन्छन्। आफैं खाने आफैं रमाउने प्रचलनको विकास हुँदै गएको छ। त्यसले दशैंको उमङ्ग र रहर नै कहाँ रह्यो र अब ?’
आजको युवा पुस्ता आफ्नो संस्कार र संस्कृति भुल्दै जाने गरेको र अर्काको संस्कृतिमा रमाउँदै गरेको देख्दा उनलाई राम्रो लाग्दैन। यसले समाजिक भावनामा एकता र आफ्नतजनसँग आत्मियतामा विचलन आइरहेको उनी देख्छिन्।
उनले समाज आधुनिकीकरण तर्फ लम्कँदै गर्दा मानिसहरु व्यक्ति विशेष बन्दै जाने प्रवृति आधुनिकीकरणको विशेषता नै भएको समेत बताइन्। तर संस्कार संस्कृति बिना भावनात्मक एकता बलियो नहुने उनको बुझाइ छ।
उनी भन्छिन्, ‘हामी संस्कार र संस्कृतिले बाँधेका देशका मानिस हौं। हामी एक्लै बाँच्न सक्दैनौं। किनकि हाम्रो संस्कारले त्यसरी नै डोर्याएर ल्याएको छ। चाडवाडले हामीलाई एकीकृत बनाउने हो। तर हामीले हाम्रो संस्कृति बिर्सिँदै जाने हो भने त एकता सम्भव हुँदैन। एकता नभए केही कुरा पनि सम्भव हुँदैन।’
उनलाई परिवर्तन स्वभाविक हो जस्तो पनि लाग्छ। तर आफ्नो धर्म संस्कारहरु त छोड्न नहुने उनको भनाई हो। उनी भन्छिन्, ‘हाम्रो धर्मले जहिले पनि हामीलाई एकतामा बाँधिरहेको हुन्छ। तर आधुनिकीकरणले यसमा बाधा र अड्चन ल्यायो।’
उनको बुझाइमा रीतिरिवाज, संस्कार र संस्कृति जोगाउन धर्मका व्याख्याताकारहरुले भूमिका खेल्न सक्छन्। उनीहरु समाजलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा गम्भिर बन्नु पर्ने उनको भनाई छ। राज्यले पनि महंगीले आकाश छोएको बजारलाई सहज पार्नु पर्ने कुरामा उनले जाेड दिइन्।



लाेकपाटी न्यूज

