काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ ले राजनीतिक रुपले आमूल परिवर्तनका लागि आफ्नो जीवन बलिदानी गर्ने महान् शहिद र शहिद परिवार प्रति राज्यले सम्मान र गर्व गर्नुपर्ने बताएका छन ।
शहिदका सपनाहरु आंशिक रुपले पूरा भएता पनि पूर्ण रुपले पूरा गर्न बाँकी रहेको बताउँदै उनले शहिदका सपना पूरा गर्न पार्टी र सरकार लागिरहेको बताएका हुन् ।
मंगलबार बाँकेको राप्तीसोनारी ९ बुचापुरमा भएको शहिद दिर्घराज शाही ‘हरि’ र शेरजङ्गग शाही ‘शुशील’ को १७ औं स्मृति दिवसमा गरिएको श्रद्धाञ्जली सभामा बोल्दै सांसद अथकले शहिद तथा बेपत्ता परिवारले आफ्ना सन्तानहरु शहिद तथा बेपत्ता भएकोमा आत्मग्लानी हैन गर्व गर्नुपर्ने बताए । उनले शहिदका सपनाहरु पूरा गर्नुपर्ने भएकै कारण नेतृत्वले सिङ्गो कम्युनिस्टहरुलाई एक ढीक्का गराउन पार्टी एकता गरेको जीकिर गरे ।
शहिदद्वयका बुवा डम्बरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा अधिकांश शहिद तथा बेपत्ता परिवारका आफन्तहरुले राज्यले बेपत्ताहरुको अवस्थाका बारेमा सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।
बेपत्ता परिवारको तर्फबाट बोल्दै बिर बहादुर वलीले मृत्युवरण गरेका शहिद परिवारभन्दा बढी पीडा बेपत्ताका परिवारलारई भएको बताए । उनले छोरो फर्केर आउँछ कि भन्ने आशमा बेपत्ता परिवार तड्पिएर बसिरहनुपर्ने भएकाले बढी पीडादायी जीवन भोग्नुपरेको दुखेसो पाेखे।
नेकपाका नेता तथा शहिद परिवारका सदस्य ओम प्रकाश केसीले हजारौंको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा हुने कुरामा शंका रहेको बताउँदै शहिद तथा बेपत्ता परिवारलाई राज्यले सम्वोधन गर्न नसकेको प्रति दुःख व्यक्त गरे ।
संविधानसभा सदस्य अशोक रोकायले शहिदहरुले देखाएको बाटोमा पार्टी र सरकार लाग्नु पर्ने बताए । उनले राज्यले शहिद परिवार र बेपत्ता परिवारलाई राहतसहित उचित सम्वोधन नभएमा राजनीति प्रति जनतामा बितृष्णा जाग्ने बताए ।
कार्यक्रममा नेकपा कोहलपुर नगर सचिव तुलाराज बिष्ट, महिला नेतृ आसा रोकाय, सीता शाही लगायतले राज्यले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्नु पर्ने धारणा राखेका थिए ।



लाेकपाटी न्यूज

