काठमाडौं, १५ असाेज। दशैं नजिकिएसँगै काठमाडाैंमा महानगरीय ट्राफिक प्रहरीले टिकट काउन्टरहरुकाे अनुगमनलाई तीव्र बनाएकाे छ। दशैंमा तोकिएको भन्दा महंगो शूल्कमा टिकट बिक्री गर्ने, क्षमताभन्दा बढी टिकट काट्ने जस्ता गुनासाहरु बढी आउने गरेकाले ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी खटाएर टिकट काउन्टरहरुको अनुगमन गरिरहेको हो ।
अनुगमनकाे क्रममा प्रहरीले गत तीन दिनमा मात्र विभिन्न टिकट काउन्टरबाट आठ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले गत असोज १२ गते कोटेश्वरस्थित चुरिमाई यातायात टिकट काउन्टर तथा इमोनएसी हायस काउन्टरबाट तीन जनालाई नियन्त्रणमा लिएको थियो । जसमा सिन्धुलीका ५० वर्षीय दीपेन्द्र प्रसाद पौडेल, पाँचथरका ३० वर्षीय उपेन्द्र ढुंगाना र महोत्तरीका २६ वर्षीय विशाल घिसिङ रहेका छन् ।
त्यस्तै, सोही दिन बल्खुस्थित वेलकम सुमो सेवा टिकट काउन्टर तथा वीरगञ्ज कलैया सुमो सेवा टिकटकाउन्टरबाट २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मकवानपुरका २७ वर्षीय श्रीराम सिन्तान र बाराका २४ वर्षीय चन्दन साह कलवार रहेका छन् ।
यता, मङ्गलबार पनि कोटेश्वरका विभिन्न टिकट काउन्टरहरुबाट बढी भाडा असुल गर्ने तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको थियो । जसमा पञ्चधुरा यातायातका धनुषा बस्ने ४२ वर्षीय रवीन्द्रनाथ श्रेष्ठ, रातो कमलामाई सेवाका धनुषा बस्ने ३९ वर्षीय अशोक थोकर र सुनसरी बस्ने २४ वर्षीय प्रशान्त तामाङ रहेका छन् ।
यता बुधबार बल्खुमा रहेको दक्षिणकाली दर्शन सुमो सेवा टिकटकाउन्टरबाट बढी भाडा असुल गर्ने काउन्टरका कर्मचारीलाई पक्राउ गरी कालिमाटी वृत्तमा बुझाइएको छ । पक्राउ पर्नेमा काठमाडौँका ३२ वर्षीय रामचन्द्र कार्की रहेका छन् ।



लाेकपाटी न्यूज

