काठमाडाैं, १५ असाेज। सभामूख कृष्णबहादुर महरामाथि याैन दुर्व्यवहारकाे आराेप लगाएकी संसद सचिवालयकी महिला कर्मचारी राेशनी शाहीले बयान फेरेकी छन्। महराले आफूलाई बलात्कारको प्रयास गरेको भनेर प्रहरी र मिडियालाई जानकारी दिने शाहीले २४ घण्टा नबित्दै बयान फेरेपछि धेरैलाई आश्चर्य लागेको छ।
आइतबार साँझ घटना भएको र आइतबारै प्रहरीलाई जानकारी गराएकी रोशनीले मंगलबार बिहानसम्म महराले आफूमाथि बलात्कारको प्रयास र कुटपिट गरेको आरोप लगाएकी थिइन्। उनले मंगलबार दिउँसोबाट भने बयान फेरेकी हुन्। उनले बयान फेर्नुको मुख्य कारण उनका श्रीमान् रहेको देखिन्छ।
कामको सिलसिलामा तनहुँ रहेका पति चित्रबहादुर शाही काठमाडौँ आएसँगै रोशनीको बयान फेरिएको हो। सोमबार दिएको अन्तर्वार्ता र मंगलबार दिएको अन्तर्वार्तामा आएका कुरामा आकाश जमिनको फरक देखिन्छ। सोमबार महरालाई बलात्कारी भन्ने शाहीले मंगलबार बाबासमानको मान्छे भनेकी छन्। सोमबार कोठामै आएर बलात्कारको प्रयास गर्नुका साथै कुटपिट गरेको भनेकी रोशनीले मंगलबार भने लामो समयदेखि उनीसँग सम्पर्कै नभएको बताएकी छन्।
घटना भएको साँझदेखि नै सभामूख महरा र उनको सचिवालयको निरन्तर सम्पर्कमा रहेका पति चित्रबहादुरले सभामूख महराबाट यस्तो काम हुनै नसक्ने प्रतिक्रिया दिएका थिए।
चित्रबहादुर तनहुँबाट फर्केपछि मंगलबार सभामूख महरा पक्षसँग छलफल गरेको स्रोतले बतायो। त्यति मात्रै नभई उनले नेकपाका केही नेताहरुसँग पनि छलफल गरेको बताइएको छ।



लाेकपाटी न्यूज

