काठमाडौं, १२ असोज। जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान बाट केहि उत्तर तर्फ सरेको जनाएको छ। भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको र अर्को न्यून चपीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको विभागले जनाएको छ।
हाल नेपालमा अरब सागर र बंगालको खाडीबाट आईरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केहि सक्रिय रहेको विभागको भनाइ छ। हाल देशभर सामान्य देखि पूर्ण वदली रही पूर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको विभागले जनाएको छ।
मौसमविद्हरुले मौसममा सोमबार(भोलि) बाट केही सुधार हुने जनाएका छन्। आइतवार भन्दा भोलि मौसममा सुधार हुँदै जाने मौसमविद्हरुको पूर्वानुमान छ। यद्दपी मंगलबारसम्म देशका विभिन्न भागमा आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना भने कायम नै छ। तर यो आजको तुलनामा कमजोर हुँदै जाने छ।
नेपालबाट मौसम बाहिरि नसकेका कारण पानी पर्ने सम्भावना भने कायम रहेको तर अहिलेको जस्तो लगातारको वर्षामा भने एक दुई दिनमा सुधार आउने मौसमविद मञ्जु बासीको भनाइ छ। अहिले पानी पारिरहेको पद्दती कमजोर बनेको र अर्को सिस्टम तत्काल विकसित हुने सम्भावना नदेखिएकाले ठूलो वर्षा हुने सम्भावना भने न्यून रहेको उनको भनाइ छ।
मौसम विभागले गर्ने तीन दिनको पूर्वानुमानबाट भने तीनदिन पछि कतिको वर्षा हुन्छ भन्ने पूर्वानुमान लगाउन कठिन हुने भएपनि नयाँ पद्दति तत्काल विकसित हुने अवस्था नहुने भएका कारण दशैंमा ठूलो पानी पर्ने सम्भावना न्यून रहेको उनको भनाइ छ।



लाेकपाटी न्यूज
