महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सिमित राख्न हुँदैन : मन्त्री अर्याल

Padma Aryal
लाेकपाटी न्यूज

काठमाडौं, ११ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो नभएको बताएकी छिन्र्। समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नारा सहित काठमाडौंमा आयोजित पैरवी अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

मन्त्री अर्यालले अब महिलाहरूले पनि प्रत्यक्ष निर्वाचन लड्नसक्नेगरी क्षमता विकास गरीसकेको भन्दै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सिमित राख्न नहुने बताइन्। महिलाहरु राजनीतिक हिसाबले, सामाजिक तथा आर्थिक हिसाबले सशक्तिकरण भइसकेको भन्दै उनले बराबरी गरेर निर्वाचन लड्नका निम्ती पहल गर्नुपर्नेमा जोड दिइन्। ’प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो होइन।

अब हरेक ठाउँमा महिलाले हस्तक्षेप गर्ने हो’, मन्त्री अर्यालले भनिन्, ’महिला कमजोर हुन्छ भन्ने कुरा गलत हो। समानुपातिकमा जति सबै महिलाको चान्स छ र प्रत्यक्षमा पनि सबै महिलाको चान्स छ भनेर निर्वाचन प्रणालीमा पनि छलफल गर्नुपर्छ।’ महिला भनेको समानुपातिकतिर जाउ सजिलो हुन्छ भन्ने मान्यता त्याग्नुपर्ने बताउदै उनले समानुपातिक र प्रत्यक्षमा आधाआधी महिला पुरुष भएर चुनाव लड्नुपर्ने बताइन् ।

सविधानमा वंश र अंशको कुरा लेख्ने नेपाल दोस्रो मुलुक भएको भन्दै उनले अब कार्यान्वयन गर्न्तिर लाग्न आवश्यक रहेको बताइन्। महिलाका प्रगतिका तगाराहरु बिस्तारै पन्छिदै गएको भन्दै मन्त्री अर्यालले कानूनी हिसाबले महिलाहरु अब विभेदमा छन् भनिरहनुपर्ने अवस्था नरहेको बताइन्। राजनीतिक पार्टीका महिला अगुवा र विभिन्न सङ्घ संस्थामा काम गरेका महिलाहरुको अभियानका कारण महिलाका निम्ति आजको स्थिति बनेको भन्दै उनले राजनीतिक पार्टीका महिलाले सात दशकदेखि लामो संघर्ष र बहुदल पछाडिका दिनमा सामाजिक सङ्घ संस्था खोलेर विभिन्न मोर्चाहरुले गरेको योगदान महत्त्वपूर्ण रहेको बताइन्।

छोटो समयमा नेपाली महिलाहरूले राम्रो फड्को मार्दै गइरहेको भन्दै मन्त्री अर्यालले नीतिगत रुपमा हामीले नीति बनाएर बलियो भएपनि त्यो नीतिलाई कार्यान्वयन गर्दा अझ बढी ध्यान दिनुपर्ने बताइन्। नीति नभएको भए आज स्थानीय तहमा ४१५ महिलाको उपस्थिति हुन सक्ने अवस्था नरहने भन्दै उनले अब आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने बताइन। उनले भनिन्, ’आर्थिक रुपमा सफल नभइकन महिलाले कुनै पनि क्षेत्रमा स्वतन्त्रता प्राप्त गर्दैन। अबको दिशा भनेको आर्थिक सशक्तीकरणकै दिशा हो। उद्यमी बन्ने, उत्पादनमा लाग्ने हो ।’

मन्त्री अर्यालले अब सहकारीमार्फत् उत्पादनमा लागेर महिलाहरू उद्यमी बन्नुपर्नेमा जोड दिइन्। जम्मा सहकारीमध्ये ५२५ महिला सदस्य रहेको भन्दै उत्पादनमा लाग्नका निम्ती भएका सहकारीका कानूनी अप्ठ्यारालाई थप सहज बनाएर बातावरण सहज बनाउने काम गरिएको बताइन्।

महिलाले आटेमा अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण प्रशस्तै भएको भन्दै अब सीप सिकाउने, टिकाउने र बिकाउने कसरी भन्नेतर्फ ध्यान दिन आग्रह गरिन्। आत्मविश्वास बढाउनका निम्ति भएपनि महिलालाई आर्थिक रुपमा सशक्त बनाउँन आवश्यक रहेको भन्दै उनले काम गर्नका निम्ती अहिले कानूनी बाधा नरहेको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्