तालिमकाे सीप कार्यक्षेत्रमा प्रयाेग गर्नुहाेस्

लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज। सशस्त्र प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा संचालित लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालीमको समापन गरेका छन्।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले असोज ९ गते आयोजित एक समारोहका वीच सो तालिमको समापन गर्नुका साथै तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका छन्।।सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा तालिमको दौरानमा प्रशिक्षार्थीहरुले आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा भरपुर उपयोग गर्नुपर्ने चर्चा गर्दै यस किसिमको तालिमले लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गरी सभ्य समाज निर्माणमा टेवा पुग्ने बताए।

उनले सशस्त्र प्रहरी बल, नेपालको छविलाई माथि उठाउन तथा जनताको मनमा बितृष्णा पैदा हुन नदिन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्ने उल्लेख गर्दै तालिममा सिकेका ज्ञानलाई आफूमा मात्र सीमित नराखी आफू मातहत कर्मचारीहरुलाई समेत सिकाउँदै लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गर्न योगदान पुर्याउनुपर्ने बताए।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले संगठनमा आवद्ध राष्ट्र सेवकहरु लैंगिक हिंसा सम्बन्धमा सधैं सचेत रहनुपर्ने उल्लेख गर्दै घरपरिवारमा मात्र नभई समाजलाई नै लैंगिकमैत्री बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान पुर्याउनुपर्ने चर्चा गरे। कार्यक्रममा सशस्त्र प्रहरी नायव निरीक्षक रजनी थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै यस किसिमको तालिमले क्षमता अभिबृद्धि गर्नुका साथै लैंगिक हिंसा न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।तालिमको दौरान प्रशिक्षार्थीहरुलाई लैंगिक हिंसा न्यूनिकरण, लैंगिक हिंसाबिरुद्ध सचेतना लगायतका विविध विषयमा प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो।

उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वाईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्