काठमाडौं, ९ असोज। लागूऔषधसहित इलाका प्रहरी कार्यालय लहानका प्रहरी कार्यालय सहयोगीे अरूण राउत पक्राउ परेका छन्। भारतको सीमावर्ती बजार कुनौलीबाट सप्तरीतर्फ लागूऔषध ल्याउँदै गर्दा राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गत आइतबार बेलुकी सात बजे पक्राउ परे पनि बिहीबार मात्र सार्वजनिक गरिएको हो। तिलाठी कोइलाडी गाउँपालिका वडा नं.१ स्थित भन्सार कार्यालय नजिक सडक बाटोमा चेक पोइन्ट थापी चेकजाँच गरिरहेको अवस्थामा शंका लागेर खानतलाशी गर्दा राउतको साथबाट लागूऔषध बरामद भएपछि पक्राउ गरिएको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए।
राजविराज नगरपालिका ६ बस्ने २६ वर्षीय राउतको साथबाट कालो प्लास्टिकभित्र पाँच पत्ताका गरी ७५ थान नाइट्राभेट फेला परेको प्रहरीले जनाएको छ।जिल्ला अदालत सप्तरीबाट म्याद थप भई राउतउपर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए। राउतलाई पक्राउ गरेलगत्तै प्रहरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो।
यस घटनाको चार दिन बित्दा पनि प्रहरीले सार्वजनिक नगरी लुकाउने प्रयास गरेको थियो। सञ्चारकर्मीहरुले सोधखोज गर्दा मात्र प्रहरीले बिहीबार घटना सार्वजनिक गरिएको हो ।यसैबीच, सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट तीनसय गाँजाबोट फडानी गरी नष्ट गरेको छ। प्रहरीले सुरुङ्गा नगरपालिका ९ परमानपुर र बलानबिहुल गाउँपालिका ४ बामनटोलमा १५ घर धुरीले खेतबारीमा लगाएको गाँजाको तीन सय बोट फँडानी बुधबार नष्ट गरेको छ।
त्यसैगरी, सप्तकोशी नगरपालिका ६ बोती टोलस्थित जंगलु बहदार मुखिया र रितु बहदारको घरबाट अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने प्रयोजनका लागि लुकाइछुपाई राखिएको तीन लिटर कच्चा पदार्थ र तयारी अवस्थाको ७० लिटर घरेलु मदिरा जफत गरी नष्ट गरेको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए।



लाेकपाटी न्यूज

