मधेश आन्दोलनका घाइतेहरुलाई राहत वितरणमा विभेद

Pradesh_2
लाेकपाटी न्यूज

धनुषा, ८ असोज। प्रदेश २ सरकारले भेदभावपूर्ण तरिकाले मधेश आन्दोलनका घाइतेहरुलाई राहत बाँडेको छ। प्रदेश २ को सरकारले मधेश आन्दोलनका घाइतेहरुहरुलाई तीन वर्गमा विभाजन गरेर राहात वितरण गरेको हो।

मधेश आन्दोलनमा घाइते भएकाहरुलाई पूर्ण घाइते, अर्ध घाइते र घाइते गरी तीन वर्गमा विभाजन गरिएको छ। यसरी तीन वर्गमा विभाजित हुनेको सूचीमा १ सय २७ जना परेका छन्। प्रदेश सरकारले गएको आर्थिक वर्ष २०७५।०७६ मा उनीहरुलाई १ करोड ११ लाख ७० हजार रुपैयाँ राहत वितरण गरेको छ।

प्रदेश २ को आठवटै जिल्लाका २०६२/०६३ र २०७२ को मधेश आन्दोलनमा घाइतेहरुलाई १५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म राहत वितरण गरेको मुख्यमन्त्री कार्यालयको तथ्यांकमा उल्लेख छ। प्रदेश सरकारले राहत वितरणमा निकै विभेद गरेको समाजवादी पार्टीका एक सांसदले नाम नखुलाउने सर्तमा बताए। समान्य घाइते हुँदा पनि राहत उपलब्ध गराएको, तर गम्भीर घाइतेहरु छुटेकाले पहुँचको आधारमा राहत वितरण गरेको उनको भनाइ छ ।

सूची अनुसार पर्साका मुन्सी पटेल र पन्नालाल यादव पूर्ण घाइतेमा परेका छन्। उनीहरु दुवै जनालाई प्रदेश सरकारले ३–३ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। यस्तै अर्ध घाइतेको सूचीमा ११ जना छन्। त्यसमध्ये सिरहाका देवनारायणप्रसाद साह, सप्तरीका श्रवण झा र सर्लाहीका गुड्डु यादवलाई जनही ३ लाख रुपैयाँको दरले रकम उपलब्ध गराइएको छ। यस्तै अर्ध घाइतेकै सूचीमा रहेका महोत्तरीका सुरेश पासवान र शंकर पासवानलाई जनही २ लाख रुपैयाँ दिइएको छ भने सप्तरीका भुवनेश्वर मण्डल र महोत्तरीका विजय ठाकुरलाई जनही १ लाख ५० हजार रुपैयाँ रकम उपलब्ध गराइएको छ।

त्यस्तै अर्ध घाइते बाराका जितेन्द्र यादव, पर्साका उपेन्द्र यादव, रौतहटका रणवीर कुमार सिंह, महोत्तरीका शिवेन्द्र कुमार महतोलाई एक–एक लाख रुपैयाँ राहतस्वरुप दिएको तथ्यांकमा उल्लेख छ। यस्तै घाइतेको सूचीमा रहेका ६ जनाले समेत जनही ३ लाख रुपैयाँ राहत पाएका छन्। पर्साका राजेश्वर साह कानु, सन्तलाल यादव, सर्लाहीका रुपेश पासवान, सिरहाका पप्पु गुप्ता, सिरहाकै किसन साह हलुवाई र महोत्तरीका सिवेन्द्र कुमार महतो छन्।

यसमध्येका शिवेन्द्रकुमार महतो अर्ध घाइते र घाइतेको सूचीमा समेत छन्। अर्ध घाइतेको सूचीमा उनले १ लाख र पुनः दोश्रो पटक घाइतेको सूचीमा ३ लाख रुपैयाँ लिएको उल्लेख छ। तथ्यांकअनुसार उनले घाइतेमध्ये सबैभन्दा बढी ४ लाख रुपैयाँ लिएका छन्।

यसका अलावा घाइतेको सूचीमा रहेका मध्येका २३ जनालाई जनही १ लाख ५० हजार रुपैयाँ, चार जनाले १–१ लाख रुपैयाँ र एक जनाले ७५ हजार रुपैयाँ राहत पाएका छन्। त्यस्तै घाइतेकै सूचीका ४३ जनाले जनही ५० हजार रुपैयाँ, २८ जनाले जनही २५ हजार रुपैयाँ, ९ जनालाई जनही २० हजार रुपैयाँ र १ जनालाई १५ हजार रुपैयाँ वितरण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। जसमा सर्लाहीका घाइते मनोहर दास बैरागी ५० हजार र सुरेश साहले २५ हजार रुपैयाँको चेक लिएका छैनन्।

प्रदेश सरकारले १ सय २७ जना मधेश आन्दोलनका घाइतेलाई राहत वितरण गरेको छ। तर आन्दोलनका सबै घाइतेको सूची नामावलीमा छैन। आन्दोलनमा गम्भीर घाइतेहरु अझै राहत लिने घाइतेको नामावलीमा समावेश छैनन्। २०७२ सालको मधेश आन्दोलनमा सिरहाको लहानमा सडक अवरुद्ध गर्ने क्रममा प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका ३० वर्षीय मञ्जय यादव, मधेश आन्दोलनमा गम्भीर घाइते हुनेमध्ये जनकपुरधाम उपमहानगरपालिका ५ बस्ने युवा सुशील कर्ण, रौतहटको राजदेवी नगरपालिकाका ७ का यादव चन्द्र लगायतका वास्तविक घाइतेहरु राहतबाट वञ्चित भएका छन्।

आन्दोलनमा समान्य घाइते भएकाहरु पनि प्रदेश सरकारको घाइतेको सूचीमा परेर राहत पाएका छन्। प्रदेश सरकारको सूचीमा समेत आफू जस्ता घाइते अटाउन नसक्नु दुःखद रहेको घाइते मध्येका एक जनाले बतााए। ‘राहत नपाएर म दुःखी छैन। घाइतेहरुले पाउने राहतको म समर्थन गर्छु। तर आन्दोलनमा अहोरात्र खटेर, प्रहरीबाट मरासन्न हुनेगरी गम्भीर घाइते भएर पुनर्जन्म पाएका हामी जस्ता गरिब घरपरिवारको घाइतेको सूचीमा नपर्नु भन्दा दुःखको कुरा अरु के हुन सक्छ ?’, ती घाइतेले भने, ‘घाइतेको नामावली संकलन र राहत वितरणमा ठूलो भेदभाव भएको छ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कोमल खत्रीले घाइतेहरुलाई छनोटको आधारमा राहत वितरण गरिएको बताए। घाइतेहरुको नामावली संकलन नभएर निवेदन र सिफारिसको आधारमा आएका घाइतेहरुलाई प्रदेश सरकारले राहतस्वरुप रकम उपलब्ध गराएको उनले बताए।

‘म आउनुअघि नै घाइतेहरुको वर्गीकरण गर्ने काम भएको थियो। के आधारमा पूर्ण घाइते, अर्ध घाइते र घाइतेको छनोट गरेको हो भन्ने कुरा स्पष्ट छैन। अब हामी त्यसैलाई स्पष्ट गर्दै जाउँ भनेर त्यसको परिमार्जनमा लागेका छौँ’, प्रवक्ता खत्रीले भने। अहिले राहत पाउनबाट कोही छुटेको भए अगामी दिनमा उनीहरुलाई समेटीने उनले बताए। तर राहत वितरणमा सरकारले कुनै काखापाखा नगरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्