काठमाडौं, ८ असोज। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलले समाजमा अनुशासन र मर्यादाको पाठ सिकाउने बताएका छन्। काठमाडौंमा आयोजित अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन च्याम्पियनसीप–२०१९ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिलेको युगमा खेल राष्ट्रको लागि खेल बन्न गएको छ, स्वास्थ्यको लागि खेल बन्न गएको छ, अनुशासनको लागि खेल बन्न गएको छ र जीवनको लागि पनि खेल बन्न गएको छ।’ पछिल्लो समय खेल सर्वव्यापी बन्दै गएको उनको भनाई छ।
उनले राष्ट्रको आर्थिक विकास र समृद्धिको लागि पनि खेलको महत्व र गरीमा विश्वव्यापी रुपमा बढ्दै गएको स्पष्ट पारेका छन्। उनले भने, ‘समाजलाई स्वस्थ्य बनाउन, राष्ट्रलाई समृद्ध बनाउन र समाजमा अनुशासन र मर्यादा कायम गर्न पनि खेलको भूमिका विश्वव्यापी रुपमा बढ्दै गएको पाइन्छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले खेलबाटै राष्ट्रको सभ्यता र संस्कारको पहिचान गर्न सकिने बताए। उनले भने, ‘एउटा राष्ट्रको पहिचान, सभ्यता र संस्कारलाई खेलबाटै चिनिने गरिएको छ। संसारका कयौं देशहरु खेलकै कारणले एकताबद्ध रहन सकेका छन्। अन्तर्राष्ट्रिय भाइचारा वृद्धिमा खेलले निकै ठूलो रणनैतिक भूमिका खेल्दछ।’
उनले अघि थपे, ‘यही सन्दर्भमा नेपालमा पनि केही वर्ष यतादेखि खेल क्षेत्रमा निकै राम्रो सुधार भएको देख्न सकिन्छ। त्यसमा पनि ब्याडमिन्टनमा ७७ जिल्लामै संस्थागत विकासको प्रक्रिया अगाडि बढेको र यस खालका प्रतियोगिताहरु रष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा अगाडि बढ्दै गरेको कुरा सुन्दा धेरै खुसी लागेको छ।’
सो अवसरमा उनले निकट भविष्यमा सार्कस्तरीय खेल प्रतियोगिताको आयोजना हुने कुराले आफूलाई खुसीको महसुस भएको बताए। उनले भने, ‘हाम्रो राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव र अन्य पदाधिकारीहरुलगायत सम्पूर्ण खेल मन्त्रालय नै यही शीर्षकमा दिनरात नभनी लागि परेको छ। यसले गर्दा यो खेल प्रतियोगिता भव्य रुपले सफल हुन्छ भन्ने मलाई विश्वास लागेको छ।’
आफूहरु राष्ट्र निर्माणको महाअभियानमा रहेको बताउँदै उनले उक्त अभियानको एक अभिन्न अंग खेल भएको समेत स्पष्ट पारे। उनले भने, ‘हामी राष्ट्र निर्माणको महाअभियानमा छौं र यो अभियानको एउटा अभिन्न अंग खेल क्षेत्र पनि हो। म सरोकारवाला निकाय तथा सबै जनतालाई खेल क्षेत्रमा प्राथमिताका साथ सहयोग गर्न अपिल पनि गर्दछु।’
खेल क्षेत्रको विकास र उन्नयनको लागि सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर अगाडि बढ्नु पर्ने उनको भनाई थियो।



लाेकपाटी न्यूज

