काठमाण्डौं, ८ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सके सानो ठाउँमा पनि धेरै उत्पादन गरेर लाभ गर्न सकिने बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।
‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ’, प्रधानमन्त्री ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने।
आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमिनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उनले मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने बताए। उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे जानकारी दिए।



लाेकपाटी न्यूज

