‘४८ घण्टाभित्र माग पूरा नभए तालाबन्दी गर्छौँ’

kisan
लाेकपाटी न्यूज

चितवन, ८ असोज । चितवनमा धानको बाला नलाग्ने समस्या देखा परेको छ। गरिमा नामको हाइव्रेड धानमा यो समस्या देखा परेको हो। यस समस्याका बारेमा आज किसानहरूले प्रदेश तीनका मूख्यमन्त्री डोरमणी पौडेलको ध्यानाकर्षण गराएका छन्।

मूख्यमन्त्री पौडेलले यस विषयमा प्राविधिकहरूसँग सल्लाह गरेर किसानका समस्याको समाधानका लागि पहल कदमि लिइने बताएका छन्। उनले धानमा बाला नलाग्ने समस्याबारे आफू जानकार रहेको समेत बताएका छन्। उनले यो समस्याको समाधानका लागि प्राविधिक टोलीबाट अनुगमन गरिने आश्वासन दिए।

धानमा बाला लाग्ने समस्या देखा परे पनि स्थानीय तह मौन रहेको भन्दै रत्ननगरका किसानहरूले ११ सदस्य गरिमा हाइव्रेड धान बीउ पीडित किसान सङ्घर्ष समिति समेत गठन गरेका छन्। उनीहरूले रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पनि ध्यानाकर्षण गराएका छन्।

उनले गरिमा नामको हाइव्रेड धान भनिए पनि उक्त धानको बाला नलाग्ने समस्याको समाधानका लागि प्राविधिकबाट जाँच गरिने बताए। उनले खराब बीउ बेच्नेलाई एग्रोभेटलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाए।

सङ्घर्ष समितिका सदस्यहरूले भने स्थानीय तहले यो समस्यालाई सामान्य तरिकाले हेरेको आरोप लगाएका छन्। उनीहरूले ४८ घण्टा भित्र यस विषयमा छानबिन र क्षतिपूर्ति लगायतका प्रक्रिया सुरु नगरे रत्ननगरका सम्पूर्ण एग्रोभेटहरुमा तालाबन्दी गर्ने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्