घरेलु हिंसा गरेको आरोपमा सासु, ससुरा र जेठाजुलाई तीन महीना कैदको फैसला

jail
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। महाकाली नगरपालिका ७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महीना कैदको फैसला सुनाएको छ।

न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपितत्रयलाई दोषी ठहर गर्दै तीनरतीन महीना कैद र जनही रु २० हजार जरिवानाको फैसला सुनाएको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार किरन सिंहले जानकारी दिए।पीडित महिलाका श्रीमान नवीनचन्द्र जोशी रोजगारीको सिलसिलामा बाहिर गएको अवस्थामा सासु, ससुरा र जेठाजुले आफूलाई शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना दिएको भन्दै पीडित महिलाले २०७६ वैशाख २ गते जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गराएकी थिइन्।

कसुर ठहरिएका तीनै जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। मुलुकी अपराधसंहितामा तीन वर्षभन्दा कम कैद सजाय तोकिएका कसुरदारले तोकिएको रकम बुझाएमा कैद बस्नु नपर्ने उल्लेख छ।पीडितको उजुरीका आधारमा जिल्ला अदालत दार्चुलाले कसुर ठहर गर्दै कैद फैसला गरेको भए पनि अदालतको फैसला चित्त नबुझेको हकमा ३५ दिनभित्र कसुरदारले उच्च अदालतमा जानसक्ने कानूनी प्रावधानसमेत रहेको श्रेस्तेदार सिंहले बताए।

दार्चुला जिल्लामा घरेलु हिंसा कसुर सजायमा मुद्दा दर्ता भएर फैसला सुनाइएको यो पहिलो घटना हो। यसअघि घरेलु हिंसासम्बन्धी उजुरी आए पनि प्रहरीको महिला सेलमै मिलापत्रमा टुङ्गिने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्