बन्दुक बोक्दैमा कम्युनिस्ट भइन्न : बिजुक्छे

Narayanman Bijukchhe
लाेकपाटी न्यूज

भक्तपुर, ७ असाेज। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफूलाई पार्टीले खटाएकै कारण पुनः अध्यक्ष बनेको बताएका छन् ।

उनले समाजवादको संकल्पसहित आफू पुनः अध्यक्ष बनेको र यसका लागि नेपाल मजदूर किसान पार्टी प्रतिवद्ध रहेको पनि बताए । बिजुक्छे निवास भक्तपुरको कमलविनायकमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दैं बिजुक्छेले भने, ‘व्यक्तिगत इच्छा र चाहानाभन्दा पनि पार्टीको आवश्यकतामा रहेर पार्टीले तोकेको पदमा रहेर काम गर्दर्छौं ।’

संघीय संसद र ३ नम्बर प्रदेशको संसदमा साच्चो प्रतिपक्ष भनेको नेमकिपा मात्र भएको भन्दै उनले भागबण्डामा भाग लिने प्रतिपक्ष हुन नसक्ने बताए । उनले भने, ‘नेपाली कांग्रेसले कि त भागबण्डामा भाग लिनु भएन कि त प्रतिपक्ष बन्नु भएन’

नेपालका नेकपा लगायतका कम्युनिष्ट भन्ने दलहरु कम्युनिष्ट नै नभएको बताउँदै आफूहरुले बिगतदेखि भन्दै आएको र केही दिन अगाडि प्रचण्डले समेत उक्त कुरा सार्वजनिक कार्यक्रम स्वीकार गरेको उनले दाबी गरे । उनले भने, ‘बन्दुक बोक्ने नै कम्युनिष्ट हुने भए पृथ्वीनारायण शाह, राणा शासक, कांग्रेस सबै कम्युनिष्ट हुने थिए।’

नागरिकता विधेयक बारेमा बोल्दै बिजुक्छेले एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने कुरा राम्रो नभएकाे बताए। बाहिरका मानिसलाई नागरिकता दिँदा धेरै कुरा विचार गरेर मात्र दिनुपर्ने उनको भनाई छ ।