नवलपरासी, ७ असोज। नवलपरासीमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो भने, १५ जना घाइते भएका छन्। नवलपरासीको कावासोती, अरुणखोला र चोरमारा तीन स्थानमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको हो।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८, पूर्व पश्चिम राजमार्गमा सोमबार राति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ। राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती ८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नंको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नंको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको भएको हो।
प्रहरीका अनुसार पाँचजना मध्ये ३ जना मृतकको सनाखत भएको छ। देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको हो। बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी गम्भीर घाइतेको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए। कारमा सवार देवचुली नगरपालिकाका व्यक्ति हुन् सक्ने प्रहरीले जनाएको छ । केही कागजात देवचुलीको फेला परेकाले मृतकहरू नवलपरासी देवचुलीकै हुनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए ।
यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१०, स्थित जंगलमा राति १ः४५ को समयमा दाङ्गबाट काठमाडौंका लागि छुटेको बस आफै अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ। कम्तीमा १५ जना घाइते भएका छन्। ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको हो। बस पल्टिँदा बसका मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमील्सिनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
यस्तै, आज बिहान मध्यविन्दु नगरपालिका ७ स्थित पूर्व पश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रित भई पल्टिँदा ५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो। घाइते सबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ। बसमा २५ जना यात्रु सवार रहेका थिए।



लाेकपाटी न्यूज
