नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत छलफलको तयारी

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, ५ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ। नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कूल विभागका उपप्रमूख देवेन्द्र पौडेलले बताए।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहने छ। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग, स्कुल विभाग, सङ्गठन विभागका केही नेता नेपाल आइपुगेका छन् भने विदेश विभाग प्रमुख सोङ ताओ आउँदै छन्। कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने छ। पौडेलले भने, ‘प्रतिनिधिहरूले आआफ्ना पार्टीका कुरा अदानप्रदान गर्ने कार्यक्रम छ।

’कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट तीन जना र नेकपाका तर्फबाट तीन जनाले मुख्य अवधारणा राख्ने तयारी छ। नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्ने छन् भने कार्यक्रमको अध्यक्षता स्कूल विभाग प्रमूख ईश्वर पोखरेलले गर्नेछन्। अन्तरक्रिया कार्यक्रम सैद्धान्तिक विषयमा केन्द्रित हुने बताइएको छ। यो समाचार गोरखापत्रमा सुरेशकुमार यादवले लेखेका छन् ।