काठमाडाैं, ४ असाेज। नेकपाका नेता वामदेव गाैतमले कास्कीबाट चुनाव नलड्ने बताएका छन्। उनले जिल्लाकाे रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्वारी नदिने जनाएका हुन्।
उनले सामाजिक सञ्जाल मार्फत् भनेका छन्, ‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’ उनले कास्कीबाट चुनाव लड्न अनुराेध गरेकाेमा पार्टी अध्यक्षद्वयप्रति आभार व्यक्त गरेका छन्।
‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो’, उनले विगतकाे कुरा स्मरण गर्दै भनेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरु कोही स्थानीय कमरेड उठ्नु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टीमा काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’
उनले कास्कीबाट चुनाव लड्दा आफू हार्न सक्ने भन्दै त्यहाँबाट चुनाव लड्न तयार नभएकाे जनाएका हुन्। कास्कीकाे निर्वाचनमा पार्टीमा रहेर काम गरिरहेका त्यहाँका स्थानीय नेताहरू पहिलाे हकदार हुने भन्दै उनले स्थानीय नेताहरूले उम्मेद्वारी दिनुपर्ने स्पष्ट पारेका छन्।




लाेकपाटी न्यूज

