कथा : अभागीको कथा

krisnamani_Parajuli
अनि मलाई लाग्छ, सम्पत्ति नभएर पनि त मान्छे जीउन सक्दो रहेछ । सन्तान नभए पनि त माया पाउन सकिँदो रहेछ मानिसले । उनलाई मानिसले हेला गरे पनि यी जनावरहरुले हेला गरेनन् । सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने कति राम्रो लोभ लाग्दो मित्रता । मानिसमा किन हुन सकेन यस्तो व्यवहार ?
लाेकपाटी न्यूज

काठमाडाैं। उनको खास नाम बसुन्धरा हो । तर, गाउँघरमा कसैले डल्ली बुढी, कसैले नुन बुढी र कसैले ज्याबोई बुढी भनेर बोलाउने गर्थे । न्वारानको नाम बसुन्धरा भएपनि यो नाम लेखापढिमा मात्र लेख्ने चलन थियो । सबैले बोलाउने नाम चाहिँ उही डल्ली बुढी, नुन बुढी र ज्याबोई बुढी नै हो । एकै जनाको चार ओटा नाम भएको बिरलै हुन्छन् होला । दुई वटा नाम भने धेरैका हुन्छन् । एउटा पुरेतले जुराई दिएको र अर्को भने घरमा माया गरेर राख्ने नाम । यिनको नाम भने किन चार ओटा राखियो, प्रश्न अनुत्तरित छ ।

म भने यिनीलाई ज्याबोई भनेर बोलाउने गर्थें । उनी मलाई कान्छा भनेर बोलाँंथिन् । उनको र मेरो उमेर करिब ६०।६२ बर्षको फरक थियो होला । त्यस कारणले पनि मैले उनलाई ज्याबोई भनेर बोलाउने गरेको थिएँ। उनी ,जसले जे भने पनि सहन सक्ने हुँदा मलाई पनि उनीसँग कुरा गर्न सहज लाग्दथ्यो । उनी पनि सिधा साधा र केटाकेटीसँग कुरा गर्न अग्रसर हुने गर्थिन् । यसको कारण थियो अलि टाठा बाठा सँग कुरा गर्न अलि हिचकचाउने गर्थिन् । अशिक्षित, अबला, त्यसमा पनि दीनदुःखी भएपछि कसको के लाग्छर ? सबैले बलेकै आगो ताप्नीत हुन् । उनी असहाय भएको हुँदा नै हेपिएर चार ओटा नाम हुन गएको रहेछ भन्ने कुरा पछि बाट मात्र मैले थाहा पाएँ।

यत्रो ठूलो संसारमा उनको आफ्नो मान्छे भनेको कोही रहेनछन् । बाल्यकालमै विवाह भएको रहेछ । घरमा टोकसो र गालीको कारणले गर्दा घर खान सकेकी रहिनछन् । धेरै पटक आत्महत्या गर्न प्रयास गरेको कुरा मलाई भनेकी पनि थिईन् । तर , के कारण बाट हुन सकेन । उनले मलाई बताउन चाहिनन् । कसैले यसले दुःख पाउने भई भनेर मेरो गाउँमा नयाँ घरबार जमाउनको लागि ब्यबस्था गरी दिएछन् । नेपाल गए कपाल सँगै, बर्मा गए कर्मसँगै भने जस्तै नयाँ घरमा पनि उनलाई राम्रो भएनछ । सधंै नै श्रीमानले पिट्ने, गाली गर्ने, खान नदिने जस्ता गतिबिधि हुने हुँदा जीवन झन् कष्टकर हुँदै गएछ । चोक्टा खान गएकी बुढी झोलमा डुबी जस्तो भएछ उनलाई ।

जस्तो भए पनि कि त आफूले आफैंलाई सखाप पार्नु पर्‍याे, कि त बाँच्नको लागि जेभएपनि सहेर बस्नु पर्यो । यसरी यी ज्याबोईको जीवन बिति रहेको देख्दा मलाई नरमाईलो लाग्दथ्यो । दैव पनि कति निष्ठुरी हुँदो रहेछ । यसरी दुख कष्ट खपेर बस्दा पनि उनको श्रीमानको मृत्यु भएछ । दुःखमाथि दुःख थपिएपछि सहनु सिवाय उनको अन्य विकल्प के हुन सक्थ्यो र ? त्यस बखतमा लोग्ने नभए पछि महिलाको के पो हैसियत हुन्थ्यो र ? । गाउँमा अलि अलि जग्गा जमिन भए पनि खेती गर्न निकै कठिन हुन्थ्यो । आफ्नो घरमा गोरु, हली केही नभए पछि कसरी खेती गर्ने । यहाँ पनि समस्यै भयो । खेती नगरे कसरी पेट पाल्ने । आफ्नो मान्छे नभए पछि भएको जग्गा पनि बांझै रहने भै हाल्यो । बांझो जमिनले खान दिने कुरै भएन ।

म केटाकेटी नै भएको हुँदा उनीको विषयमा मलाई जानकारी नै थिएन । मेरै घरको एक छेउको पाली बाँधेर बसेकी थिईन् । सानो कोठा, राखन धरन्, पकाउनी, खानी, सुत्नी त्यहि सानो कोठा बाट याबत् कुरा गर्नु पर्ने हुंदा जीवनको भोगाई कतिसम्म कष्टकर हुँदो रहेछ भन्ने कुरा बुझ्न सकिन्थ्यो नै ।

उनको आफ्नो भन्ने कोही नभएको हुँदा सायद उनीलाई संसारै अँध्यारो लाग्थ्यो होला । माइति, मामली र घरपरिवारमा पनि उनी मात्र । साहाराको त्यान्द्रो सम्म पनि कोही थिएन । कसैले सहयोग त के, ढाडस सम्म दिने कोही थिएनन् । पछिल्लो घरबार गर्न रमाएर आएकी उनी एक्लै जीवन बिताउनु पर्दा कस्ताे भयो होला उनको मन ? सुखका दिनको कुरै नगरौं । श्रीमान् र एउटी छोरी थिईन् , ती दुबैलाई लगातारै गुमाउनु परेको रहेछ । श्रीमान् गुमाए पनि छोरी छ भन्ने पनि भएन उनलाई । अलि अलि भएको सम्पत्ति पनि लावारिस भएछ । टाठा बाठाहरुले आफ्ना नाममा बनाई सकेका रहेछन् । जग्गा जमिन भए पनि खेती पाती गर्न उनको लागि कठिन थियो । त्यो पनि भएन । अर्काको घरमा गएर आय आर्जन गर्ने पनि त्यसबेला त्यतिको चलन चलेको थिएन । आफ्नो जग्गा जमिन अरुले हडप्नु र अरुको काम गरेर दैनिकी गुजार गर्न पनि नपाउंदा बांच्नको लागि संघर्ष गर्नुको विकल्प थिएन ।

अभावमा बाँचेकी र अभागी ती ज्याबोईको जीवन संघर्षलाई अहिले सम्झदा उनी एक संघर्षशील महिला भएको मलाई लाग्दछ । जीवन देखि ती कहिले पनि अत्तालिईनन् । श्रीमान्, छोरी र सम्पत्ति सबै गुमाउँदा पनि उनका अनुहारमा खिन्नता मैले कैले देखिन । सधैं उनको हंस मुख नै थियो । आफ्नो सम्पत्ति अरुले लगेपनि उनले कहिल्यै चित्त दुखाईनन् । कहिले पनि अरुसंग अनुनय,बिनय, आग्रह गरीनन् । अरुको चित्त दुखाउनुको के कुरा आफ्नै चित्त दुखाउने काम पनि गरीनन् । जस्तोसुकै अबस्थामा पनि रमाउन सक्ने धन्य ती अभागि ज्याबोई ।

आफू शून्यतामा बाँच्नु पर्ने बाध्यता र अरु बाट केही पनि सहयोग नपाउने भएपछि एउटा सानो बाख्राको पाठी पाल्ने जोहो मिलेछ , अधियांमा । बाख्री बाट जे जन्मिन्छ त्यो आधा आधा गर्ने । त्यस बाट भएको आम्दानीले उनीले छुट्टै एउटा पाठी किनिछन् र, त्यस बाट आफ्नो जीवीकोपार्जन गरेकी रहिछिन् । हो, त्यसपछि तिनको सुखका दिन भन्दा पनि बांच्नको लागि केही सहज हुन पुगेछ र दःुखका दिन सकिदै गएछन् । उनको सानो संसार, जुन संसारमा उनी एक पेट खान नपाएर छट्पटाएकी हुन्थिन् । केही हद सम्म उनीलाई पापी पेटले दुःख नदिने भयो । उनीलाई मानिसले भन्दा बाख्रापाठाले पाल्ने भएकोमा ।

मानिसलाई जीवन धान्नको लागि गांस, बांस, कपास, सुरक्षा, परिवार जस्ता अबयबहरुको आवश्यकता परेकै हुन्छन् । यी आधारभूत यथार्तता भएनन् भने जीवनको कुनै अर्थ हुंदैन । यी ज्याबोईले सास धान्नको लागि मात्र एक दुई ओटा बाख्रा पालेकी थिईन् । त्यस भन्दा बढि पाल्ने तिनको क्षमता पनि थिएन । बासको लागि भने सानो खोपी छँदै थियो । त्यहि खोपी भित्र बाख्रा लगायत राखन धरन , खानपीन र त्यहि सुत्न पर्ने हुँदा एक किसिमको काल कोठरी जस्तो थियो । जसरी भएपनि मानिसले जीउनको लागि सहनै पर्दो रहेछ । लत्ता कपडाको सम्बन्धमा कुरा गर्ने हो भने उनको शरीरमा कहिले पनि नयां कपडा परेन । जहिले पनि पुराना, टालेका र महिला । त्यो पनि कसैले काम नलाग्ने भएपछि दिएका । जे होस्, अरुले दिएका भएपनि, पुराना भए पनि, मैला भएपनि उनले आफ्नो लाजलाई छोपेकी थिईन् । बिधवा नारी त्यसमा पनि बृद्ध भएको कारणले गर्दा उनलाई सुरक्षाको खासै मतलब थिएन । केवल उनलाई चिन्ता थियोत बाख्राको । बाख्रानै उनको जीवन थियो ।जीवननै बाख्रा थिए । धन सम्पत्ति, नाता गोता, ईष्टमित्र यावत् चिज नै उनका लागि यिनै थिए ।

       ******   *******   ********   *******   *******   ********

म काठमाडाैंबाट घर गएको समय थियो । म बाहिर पिंडिमा बसि रहेको थिएँ । उनीले कोही अपरिचित ब्यक्तिसँग कुरा गरेको मैले सुने । त्यो बात एकोहोरो अर्थात दोहोरो किसिमको सवाल जवाफ थिएन । केवल उनीको मात्र आवाज सुनिन्थ्यो । पछि उनी खोपीबाट निस्किनासाथ मैले सोध्न पुगी हालेँ, ’ज्याबोईले अघि कोसँग कुरा गरेको’ ?। अनि तुरुन्तै उनले जबाफ दिईन् ’ बाख्रासँग ’ । मलाई त अचम्म लाग्यो र फेरि प्रश्न तेस्र्याइ हालेँ ’ बाख्रसँग पनि कुरा हुन्छ र ? कसरी बाख्राको कुरा बुझ्न सकिन्छ भनेर । उनी एकै छिन चुप चाप भईन् र फेरि जवाफ् दिईन्, ‘आफ्नो भन्नु कोही नभए पछि के गर्नु कान्छा, मेरा त जे भए पनि यिनै बाख्रा र बिराला हो, यिनैसँग बात मार्छु, बस्छु’ । उनको यी शब्दहरु सुन्नासाथ मलाई खल्लो अनुभव भयो । धत्, मानिसको जीन्दगी कस्तो अनौठो र अप्यातिरो रहेछ । यति ठूलो संसारमा आफ्नो मनको बह पोख्ने ठाउँ नभएर यी ज्याबोईले बाख्रा र बिरालोसँग कुरा गर्न परेको । आफ्नो भन्नु कोही नभएपछि मानिसले पशुलाई समेत आफ्नो सन्तान जस्तै बनाउनु पर्ने कस्तो अनौठो बाध्यता ?

म घोत्लिँदै गएँ, बिचार गर्दै गएँ। जीउन त कठीन पो रहेछ जस्तो लाग्यो । हुने खानेको संसार छुट्टै हुँदो रहेछ । नहुनेको लागि भने बोली मिसाउन पनि गाह्रो हुँदो रहेछ । सायद यी बृद्धा बाट कुनै चिज लिन पाउने भए, मानिसको भिड् हुन्थ्यो होला । तछाड मछाड गरेर । तर, अहिले उनको साथमा सम्पत्तिका नाममा यीनै २।४ ओटा बाख्रा र एउटा बिरालो थिए । उनको मन शान्त पार्ने काम यिनीहरुल नै गरेका थिए ।

म बाहिर आंगनबाट सुनिरहेको हुन्छु, उनीहरुको बातचित्त । कहिले मेरो छोरो भनेर, खान खा भनेकी हुन्छिन् भने कहिले कति राम्री मेरी छोरी भनेर मायालु शब्द बोली रहेकी हुन्थिन् । आज मिठो खाने कुरा छैन, कसरी खान्छेस् भनेको पनि मैले सुनेको हुन्थें । अनि मलाई लाग्छ, सम्पत्ति नभएर पनि त मान्छे जीउन सक्दो रहेछ । सन्तान नभए पनि त माया पाउन सकिँदो रहेछ मानिसले । उनलाई मानिसले हेला गरे पनि यी जनावरहरुले हेला गरेनन् । सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने कति राम्रो लोभ लाग्दो मित्रता । मानिसमा किन हुन सकेन यस्तो व्यवहार ?

हो, निश्चय नै हो । यी प्राणीबीच यति प्रगाढ प्रेम रहेछ कि उनी अघि अघि हिँडेकी हुन्थिन्, पछि पछि बाख्रा लागेका हुन्थे र खोपी कुर्न भने बिरालो बसेको हुन्थ्यो । यिनले कहिले पनि जेठो, माहिलो, कान्छो र कान्छी भनेर बोलाउनु बाहेक अन्य तरीकाले बोलाएकी मलाई थाहा भएन । आज जेठो बिरामी भएछ, केही पनि खाएको छैन भनि औषधि मूलो पनि गरेकी हुन्थिन् । उनीले बोलाउँदा यी सबै खुशी भएर आएकै हुन्थे । कसैले अटेर गरेर आएन भने यो किन मदेखि रिसाएर नआएको होला भन्थिन् र उसलाई खुशी पार्नको लागि फेरि बोलाउँथिन् । यसरी मानिसमा हुने भन्दा बढी माया र सद्भाव यिनीहरुमा झल्किन्थ्यो । यदि मानिसमा यी गुणहरु हुँदैनन् भने मानिस हुनुको के अर्थ हुन्छ र ?

यिनीमा जति पीडा दर्द भए पनि संधैं हँसमुख नै देखिन्थिन् । सायद यी बाख्रा र बिरालो साथ पाएर पनि हुन सक्दछ । जसरी एउटी आमा घरबाट बाहिर जाँदा बच्चाहरु पछि लाग्दछन् । त्यसरी नै यी बाहिर जान लाग्दा बाख्राहरुले ठाडो ठाडो मुण्टो लगाउँथे । बिरालो भने म्याउँ गरेर कराउँथ्यो । म अन्दाज गर्छु , बिरालोले म्याउँ म्याउँ गरेर कराउनुको अर्थ मलाई छोडेर टाढा नजाउ अथवा जाने भए छिट्टै फर्केर आउ भन्ने नै थियो होला । कारण नगिजमा अरुको घर नभएको हुँदा बिरालो अन्यत्र जान सक्ने अवस्था थिएन । त्यसैले कराउनुको अर्थ साथीको लागि भए पनि छिटै घर फर्केर आउ भन्ने संकेत हुन सक्दछ । बाख्राहरुलाई उनीले बोलाउँदा दगुरेर तुरुन्तै आई पुगि हाल्थे । यसरी सन्तानको अभाव ती ज्याबोईले कहिले पनि अनुभव गरिनन् । सन्तान हुने भन्दा कम खुशी थिईनन् उनी ।

गाउँघरतिर यस्तो प्रचलन थियो कि दशैंमा मासु खानको लागि खसी बोका पालेका हुन्थे । यिनीले पनि पालेकी नै हुन्थिन् । आफूसँग भएको खसी बोका बेचिदिएकी हुन्थिन् तैपनि आफूले पालेका खसी बोकाको मासु खाँदैनथिन् । र, उनीले अन्यत्रैबाट किनेर ल्याउँथिन् । किन आफ्नो खसीको मासु नखाएकी भनेर कसैले सोधेको खण्डमा आफ्ना छोरा छोरी जस्तालाई मारेर कसरी तिनीहरुको मासु खाने भनेर जवाफ दिन्थिन् । सोध्ने मानिसहरु नाजवाफ हुन्थे । उनीले पालेका बाख्राहरुको काटमार गरेको पनि उनी हेर्न सक्दैनथिन् र परतिर गएर बसेकी हुन्थिन् ।

अहिले पनि उनको पूर्व इतिहासलाई सम्झँदा नरमाईलो लागेर आउँछ । उनको लागि सहयोगको हात फैलाउने सायदै कोही थिए होलान् । उनीले आफ्नो जीवनलाई एउटा संघर्षमय बनाएकी थिईन् । आफू नखाई नखाई बाख्रा र बिरालोलाई खुवाएकी हुन्थिन् । मागेर बांच्ने सोच बनाईनन् । खान नपाए बरु भोकै बस्थिन् । तैपनि कसैसँग तल आफ्नो हात पारिनन् । उनको यो आँट देख्दा विदुषी योगमायासँग तुलना गरे पनि फरक नपर्ने जस्तो लाग्छ मलाई ।

उनको छोरी र म दामली रहेछौं । उनको छोरी मरेको मलाई संझना नभए पनि उनको अनुहार भने मेरो सम्झनामा अझैसम्म रहेको छ । सानो झुपडिमा आमा छोरी बसेको मलाई याद छ । मेरो जन्म कृष्ण अष्टमीको मध्य रातमा भएको रहेछ । म माथिका दाजुहरु र दिदीहरु सानै भएको हुंदा घरको सबै काम र घरको सबै ब्यबहार आमाले मात्र समाल्नु पर्ने बाध्यता रहेछ । त्यो मध्यरातमा आमा प्रसव वेदनाबाट छटपटिँदा आमाको सहाराको पात्र तिनै ज्याबोई मात्र रहिछन् ।

उनैले आमालाई सहयोग गरेकी रहिछन् । आमा प्रसव वेदनाले छटपटी रहँदा मलाई दूध खुवाएर बचाउने काम पनि तिनैबाट भएको रहेछ । त्यसकारणले गर्दा पनि यो धरतीमा मैले पाईला टेक्नासाथ मलाई दूध खुवाएर बचाएको हुँदा उनी मेरो लागि दोश्रो आमा थिईन अथवा धाई आमा । त्यस्ती मलाई दुध खुवाएर बचाउने धाई आमाको मृत्यु को खवरसम्म पनि मैले पाउन सकिन । अन्तिम संस्कारको कुरो त धेरै परको हुने भई हाल्यो । अन्तिम अवस्थामा मैले उनीलाई भेट्न नपाएकोमा अझैसम्म पनि मेरो दिमागमा कुरा खेली रहेका छन् । किन मलाई खवर गरिएन प्रश्न अझसम्म पनि अनुत्तरित नै छ ।

       ******   *******   ********   *******   *******   ********

गाउँमा केही बर्षको अध्ययन पछि म अध्ययनको लागि काठमाडौं आएँ। म काठमाडौं पढ्न आएको खबरले उनी साह्रै नै खुशी भएकी थिईन् । खुशी हुनुको कारण मैले नजन्माएको भए पनि मेरो दुधले बाँचेको बच्चा काठमाण्डु जान सक्यो भन्ने कता कता उनलाई एक किसिमको गर्व लागेको थियो होला । म काठमाडौंीिरै बस्ने हुँदा उनीसँगको भेट पातलो हुने गर्दथ्यो । त्यसमा पनि पछि जागिरमा प्रवेश गरेपछि त भेटघाट पातलो हुनु स्वभाविकै थियो ।

उनले दुध खुवाएर मलाई बचाएको हुँदा भित्रभित्र उनले मलाई छोरो जस्तो ठान्थिन् र केही पीडा र कुण्ठा पोख्ने ठाउँ म मात्र उनको लागि एकल पात्र थिएँ । उनको लागि आफू पछिको आफ्नो भन्ने मानिस म मात्र थिएँ । म काठमाडौंमा बसेको र जागिर खाएको हुँदा उनले मबाट केही आशा गरे जस्तो मलाई लाग्दथ्यो । भेट भएको अवस्थामा केही हदसम्म मैले उनको आवश्यकता पूर्ति गरेको पनि हुन्थेँ ।

उनको अवस्था देखेर मलाई दया लाग्नु स्वभाविक थियो र उनको लागि केही गर्न पाए हुन्थ्यो भन्ने भावना पनि आउँथ्यो मलाई । कुनै सरकारी कार्यालयमा उनको अवस्थाको बारे विवरण प्रस्तुत गरें । कार्यालयले पनि नियमित रुपमा प्रत्येक महिना सानो रकम उपलब्ध गरायो पनि । एक पटक म घर जाँदा उनीसँग भेट भएको थियो । जब म काठमाडौ आउँदै थिएँ, उनी मेरो पछि पछि आएर मलाई भेट्टाईन् । केही सहयोगको लागि भनिन् । तपाईसँग हुँदै होलानी भनी मैले जवाफ फर्काएँ । फलानोले माग्यो उसलाई दिएँ भन्ने मलाई जवाफ मिल्यो । मलाई नरमाईलो लागेर आयो ।

यस्ती अभागी असहाय महिलाको २।४ पैसा पनि लिई दिने कस्ता मानिस होलान् भन्ने लाग्यो मलाई । म अक्क न बक्क भएँ। यहाँ मैले के जोड्न चाहेँ भने उनी आफू नांगिएर पनि अरुलाई सहयोग गर्ने भावना उनीमा थियो । पछि मलाई थाहा भयो, यो रकम पनि उनको हातमा कहिल्यै पर्दैनथ्यो भनेर । यो रकमको सत्पात्रमा नपुगेकोे थाहा भएपछि यो पनि बन्द भयो ।

केही बर्षको अन्तराल पछि उनी बिरामी भई थला परिछन् । उमेर र शारीरिक कमजोरीको कारणले गर्दा उनको यस संसारको भोगाई सिद्धिँदै गएको रहेछ । मैले उनी थला परेको थाहा पाउन सकिन । के कारणले हो उनी बिरामी भएको कुरा मलाई कसैले पनि खवर गरेनन् । साथै मृत्यु भएकोे खबर पनि । थाहा पाएको भए म उनलाई बोलाउन निश्चय नै पुगेको हुन्थेँ। मृत्यु हुनु पूर्व गाउँलेलाई दुःख नहोस् भनेर उनले मलाई नजलाई देऊ, सक्छौ भने नदीको छेउमा मलाई गाडी देऊ भनेकी रहिछन् । गाउँलेहरुले उनको अन्तिम ईच्छा पुर्याई दिएछन् । ती शुभचिन्तक गाउँले, जसले ती बृद्धको अन्तिम ईच्छा पुर्याई दिए, म तिनीहरुप्रति कृतज्ञ छु ।

मृत्यु भएको खबरले मलाई पीडा दिनुसम्म दियो । सायद उनलाई पनि मलाई भेट्ने प्रबल ईच्छा थियो होला । कारण यस संसारमा मभन्दा नजिकको नाता उनको कोही थिएन । मैले उनलाई भेट्न नपाएको र उनले पनि मलाई भेट्न नपाएकोमा हामी दुवै उत्तिकै चिन्तित छौं । यो संसारमा अन्तिम पटक भेट हुन नसके पनि अर्को जुनीमा भेट हुने आशा लिएको छु, उनकै धाई छोराको रुपमा ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्