उच्च नेतृत्वकाे सम्पत्ति छानविन हुनुपर्छ : रवीन्द्र मिश्र

Rabindra-Mishra
लाेकपाटी न्यूज

गोरखा, ३ असाेज। साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले उच्च पदका व्यक्तिहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् । उनले आफूहरु सरकारमा आए २०४६ साल यताका राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वको सम्पत्ति छानविन गर्ने बताएका हुन्।

पार्टीको गाेरखा जिल्ला संयोजक घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार सदरमुकाम आएका मिश्रले देशमा भ्रष्टाचार मौलाएको भन्दै सचेत हुन नागरिकलाई आग्रह गरेका छन् । उनले भने, ‘सीमित बिचौलिया र राजनीतिक परिवारको स्तर मात्र बढेको छ, उनीहरुले देश दोहन गरिरहेका छन्। नागरिक सचेत हुनुपर्‍यो ।’

मतदाताले असल नेतृत्व चुन्न नसकेको भन्दै उनले राजनीतिक मायाजालबाट मुक्त हुन आग्रह गरे । सरकारको नेतृत्व गर्ने अवसर पाए कर्मचारी युनियन खारेज गर्ने उनले बताए । उनले भने, ‘प्रशासनलाई राम्रो काम गर्न नदिने कर्मचारी युनियन हो, जनताको तलव खाएर नेता, पार्टी र आफ्नो मात्र सेवा गर्ने कर्मचारीको काम छैन, हरेक कार्यालयमा राखिएका युनियनका बोर्डहरु हटाउँछौ।’

युनियनको आडमा खरिदार र नासुले सचिवस्तरको कर्मचारीको टेवल ठटाउने आँट गर्ने गरेको भन्दै उनले चिन्ता जनाए । शिक्षक र प्राध्यापक संगठन पनि खारेज गरिने उनको भनाइ छ । युनियन र संगठन खारेज भए जनताले सहज रुपमा सेवा पाउने उनले तर्क गरे ।

केही पक्ष संविधान उल्टाउने खेलमा लागेको भन्दै मिश्रले भने, ‘यो संविधान भत्काउने होइन, कमजोरी संशोधन गर्न सकिन्छ । भत्काउनुपर्छ भन्नेले सडकमा आन्दोलन गर्ने होइन, एजेण्डा ल्याउनुस्, जनताको मन जित्नुस् संसदमा जानुस् जनमत संग्रह गर्नुस् ।’

राजनीतिका खिचातानीका कारण काठमाडौंले गरेको गल्ती गोरखाले पनि दोहोर्‍याइरहेको उनले बताए । उनले भने, ‘गोरखाले धेरै बिद्धान र ठूला नेता जन्मायो तर गन्धा राजनीतिले गर्दा जिल्लाको विकास हुन सकेको छैन।’ आगामी चुनावमा साझा पार्टी विकल्प नभइ निर्विकल्प हुनुपर्ने उनको भनाइ छ ।