काठमाडौं, ३ असोज। प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार संघीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्।
ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको आजको दिन चौंथो संविधान दिवसका अवसरमा एक सन्देश दिँदै मुख्मन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
‘आजको दिनसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि थुप्रै योद्धाले आफ्नो अमूल्य जीवनको बलिदानी दिनुभएको छ। संविधान दिवसका अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनमा शहादत प्राप्त गर्नुभएका महान् शहीदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु। घाइते तथा अशक्त योद्धाप्रति सम्मान व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ।
उनले सन्देशमार्फत् जनतालाई व्यवस्था परिवर्तन भएको अनुभूति दिनका लागि जनताको अवस्था बदल्नुपर्ने र तदनुरुपका योजना तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन्। यसका लागि प्रदेश सरकार इमान्दारिताका साथ लागिपरेको र आफ्ना नीति तथा कार्यक्रम सोही दिशामा केन्द्रीत भएको उनले उल्लेख गरेका छन्।
प्रदेश नं ३ सरकार संघीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छ। यसका लागि हामी सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मिहिनेतको आवश्यकता छ। संविधान दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ’ मुख्यमन्त्री पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।



लाेकपाटी न्यूज

