प्रचण्डको शुभकामना सन्देश : ‘नेपाली मौलिकताको समाजवाद स्थापना गरौं’

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली मौलिकताको समाजवाद स्थापनाको दिशामा अगाडि बढ्न सबैमा आग्रह गरेका छन्। चौंथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘वर्तमान संविधानले प्रष्ट रुपमा समाजवादी व्यवस्थातर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ’ प्रचण्डले भनेका छन्, ‘नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो।’

उनले नयाँ संविधान जनताका सर्वोत्तम छोराछोरीको बलिदानीका कारण आएकोसमेत बताएका छन्। सन्देशमा प्रचण्डले नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि आफ्नो प्रतिवद्धता दोहोराएका छन्।

यस्तो छ प्रचण्डको शुभकामना सन्देश

नेपालको संविधानको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस अवसरमा सर्वप्रथम जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्सर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यसक्रममा बेपत्ता हुनुभएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु। यस संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेस लगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको छ।

संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पीडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको छ।

वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ। नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो।

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउन केही अराजक तत्वहरु यो व्यवस्थाकै विरुद्ध लागि परेका छन्। जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गरी सम्पूर्ण परिवर्तनकारी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु।

Sambidhan_dibas_suvakamana-03-06-076