काठमाडौं। प्रतनिधि सभाका सभामूख कृष्णबहादुर महराले प्रतिनिधि सभा संविधानको गरिमा बढाउन प्रतिवद्ध भएर लाग्ने बताएका छन्। चौंथो संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सभामूख महराले उक्त कुरा बताएका हुन्।
सन्देशमा महराले लेखेका छन्, ‘ नेपालको संविधान जारी भएयताका चार वर्षको बीचमा संघीय संसदले विभिन्न ऐन कानूनहरुको निर्माण गरी संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। आगामी दिनमा पनि आवश्यक ऐन कानून निर्माणमा विशेष तदारुकता दिदै संविधानको गरिमा बढाउन र संविधानलाई थप विकसित गर्न संघीय संसदले निर्वाह गर्ने भूमिकामा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’
यस्तो छ सभामूखको शुभकामना सन्देश
संविधान सभामार्फत् नेपाली जनताले आफ्नो संविधान आफै घोषणा गरेको आजको यस ऐतिहासिक दिन संविधान दिवस २०७६ को अवसरमा समस्त नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
चार वर्षअघि आजकै दिन २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको थियो। नेपालको इतिहासमा ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई संविधानमार्फत् संस्थागत गरिएको यस दिनको अवसरमा म संविधान सभाबाट संविधान प्राप्तिका लागि विभिन्न कालखण्डका भएका गौरवपूर्ण जनसंघर्षहरुमा शहादत प्राप्त गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान अर्पण गर्दछु। संघर्षका दौरान घाइते हुनुभएका सबै योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दै उहाँहरुको योगदानको उच्च सम्मान गर्दछु।
नेपालको संविधान जारी भएयताका चार वर्षको बीचमा संघीय संसदले विभिन्न ऐन कानूनहरुको निर्माण गरी संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। आगामी दिनमा पनि आवश्यक ऐन कानून निर्माणमा विशेष तदारुकता दिदै संविधानको गरिमा बढाउन र संविधानलाई थप विकसित गर्न संघीय संसदले निर्वाह गर्ने भूमिकामा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक जस्ता महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। त्यस्तै, आम नागरिकको मौलिक हक अधिकार र स्वतन्त्रताको सुनिश्चितता गरेको छ। संविधानको यही मर्मलाई आत्मसाथ गर्दै नेपाली जनताको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता, स्वाभिमान एवं भौगोलिक अखण्डतालाई मजबुत बनाउँदै संविधान कार्यान्वयन र यसको पूर्ण पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त होस्, संविधान दिवस २०७६ को सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।




लाेकपाटी न्यूज

