नेपाल भ्रमण वर्ष–२०२० को आधिकारिक वेबसाईट सार्वजनिक

लाेकपाटी न्यूज

काठमाडौं, १ असाेज। ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिङ्डईन पनि सञ्चालनमा ल्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको सो आधिकारिक वेबसाईट तथा सामाजिक सञ्जालका ह्यान्डलहरुको एकैसाथ शुभारम्भ गरेका हुन् ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाईटहरुमा www.visitnepal2020.gov.np / www.visitnepalnews.gov.np रहेका छन् । त्यसैगरी सामाजिक सञ्जालहरुको ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन् ।

यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिए । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा यसको आधिकारिक वेबसाईटहरुको पनि शुभारम्भ गरिएको बताए ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सम्बन्धि जानकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुको पनि सो सम्बन्धि सन्दर्भ सामग्रीहरु भिडियोमार्फत सार्वजनिक गरिनेछ । मन्त्री भट्टराईले यी वेबसाईटहरुबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न पनि सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।

मन्त्री भट्टराईले यस अघि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन उद्योगी, व्यवसायी र कलाकारहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्