‘राष्ट्रिय विज्ञान दिवस’मा पत्रकारद्वय भण्डारी र अधिकारी पुरस्कृत

लाेकपाटी न्यूज

काठमाडौं, १ असोज । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ भव्यताका साथ सम्पन्न गरेको छ । “विज्ञान, प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रुपान्तरण’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय विज्ञान दिवस मनाइएको हो ।

भृकृटीमण्डपस्थित राष्ट्रियसभा गृहमा भएको सो कार्यक्रमका अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ट योगदान पुर्याउने २ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई सम्मान स्वरुप रु. १५ हजार राशिको पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे।

पुरस्कृत हुने गोपाल भण्डारीले गोल्डेन साइन्फिक एज मासिक पत्रिकामा सन् २००९ देखि सन् २०१० सम्म सह–सम्पादक, रिभो साइन्स मासिक पत्रिकामा सन् २०१२ देखि सन् २०१४ सम्म सह–सम्पादक, साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकामा सन् २०१४ देखि हालसम्म प्रधान–सम्पादकको रुपमा रहेर काम गरेका छन् ।

एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीका विभिन्न विषयहरुका १२ वटा पुस्तकहरु, ८ वटा अनुसन्धानात्मक प्रतिवेदनहरु, ४ वटा वैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेखहरु, विभिन्न विज्ञान मासिक, पाक्षिक पत्रपत्रिकाहरुमा लगभग १०० वटा जति विज्ञान सम्बन्धि लेखहरु र विभिन्न अनलाइनहरुमा लगभग एक हजार जति विज्ञान र अन्य विषयहरुका लेखहरु प्रकाशित छन् ।

त्यस्तै, पत्रकार सन्तोषी अधिकारी विगत १४ वर्षदेखि निरन्तर पत्रकारितामा संलग्न छिन्। शुरुवाती दिनमा देशान्तर साप्ताहिकको संवाददाता, नुवाकोट एफएम, नेपालवाली रेडियो नेटवर्क, इमेज एफ एम, इमेज न्यूज एफएममा समाचारवाचिका साथै कार्यक्रम संचालिकाको रुपमा काम गरेकी थिइन्।

उनले एभिन्यूज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुँदै हाल एबिसी न्यूज टेलिभिजनमा समाचारवाचिका एवं कार्यक्रम निर्माता, प्रस्तोताको रुपमा काम गर्दै आएकी छिन्। उनका विज्ञानसँग विभिन्न अनुसन्धानमूलक लेख र रचनाहरु प्रकाशित हुनुका साथै टेलिभिजन रिपोर्ट र कार्यक्रम सञ्चालन पनि गर्दै आएकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्