वायुसेवा निगम सुधार कार्यदलले प्रतिवेदन बुझायो, प्रतिवेदनमा के छ ?

लाेकपाटी न्यूज

काठमाडौं, १ असाेज । नेपाल वायुसेवा निगम सुधारका लागि गठित कार्यदलले पर्यटन मन्त्री याेगेश भट्टराईलाई सुझाव प्रतिवेदन बुझाएकाे छ। जसमा रणनीतिक साझेदार भित्र्याउन सुझाव दिइएको छ ।

पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले निगममा तत्काल रणनीतिक साझेदार ल्याउन सरकारलाई सुझाव दिएको हो ।कार्यदलले आज संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा रणनीतिक साझेदारी भित्र्याएर निगमलाई पब्लिक कम्पनी बनाउन सुझाव दिएको हो । समितिले निगमको व्यवस्थापनबारे यसअघि तयार पारिएका ६ वटा प्रतिवेदनको समेत अध्ययन गरी नयाँ प्रतिवेदन दिएको हो ।

प्रतिवेदनले निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था/निकायलाई पनि शेयर जारी गर्न सुझाव दिएको छ । रणनीतिक साझेदारीमा नजानु तथा राजनीतिक नियुक्ति निगमको समस्याको मूल जड भएको प्रतिवेदनले औंल्याएको छ । राजनीतिक नियुक्ति नै निगमको समस्याको मूल जड रहेको तथ्य अध्ययनबाट देखिएको समितिले जनाएकाे छ।

प्रतिवेदनमा निगमलाई सुधार गर्न निगमको लेखा प्रणाली सुधार, वित्तीय पुर्नसंरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउनुपर्ने, गन्तव्य विस्तार गर्न ए ३२० नामका न्यारोबडी किन्ने सहितका १३ वटा तत्कालीन सुझाव दिइएको छ । अब नयाँ जहाज किन्दा सिधै उत्पादकसँग मात्र किन्न, खरिद कर्यालयको प्रतिनिधि राख्नेसहितका सुझाव पनि प्रतिवेदनमा दिइएको छ । निगमले प्रविधि प्रयोग, मोबाइल एप, अनलाइनबाट टिकट काट्ने प्रणाली चलाउन पनि सुझाव दिएको छ ।

पब्लिक कम्पनी बनाउनेसहितका दीर्घकालीन सुझाव पनि प्रतिवेदनले दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले तोकिएको समयमै प्रतिवेदन तयार पारेकोमा समितिलाई धन्यवाद दिएका छन्। गत साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट गठित समितिले काम सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाएको हो । सो अवसरमा मन्त्री भट्टराईले प्रतिस्पर्धी बजारमा निगमलाई नाफामा लान प्रतिवेदनले सुझाएका उपायले सहयोग गर्ने बताए।

उनले भने, ‘सार्वजनिक कम्पनी मोडलमा लान दिएको सुझाव हामी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर कार्यान्वयन गर्नेछौं। नेपाल सरकार यो प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध छ । अब आम नेपाली र बुद्धिजीवीको पनि सुझाव आओस्। हामी त्यसलाई पनि लिएर जान्छौं ।’ उनले कार्यतालिका बनाएर प्रतिवेदन कार्यान्वयन गर्ने जानकारी पनि दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्