काठमाडौं। आन्तोनियो ग्राम्शी इटाली कम्युनिष्ट पार्टीका संस्थापक, मार्क्सवादी दर्शन र विचारका प्रखर समर्थक र प्रचारक थिए। बीसौं शताब्दीको शुरुका चार दशकहरूमा विश्व राजनीतिमा फासीवादी राजनीतिप्रतिको रुझान् बढ्दै गएको थियो भने साम्यवाद विचार सङ्कटमा पर्दै गएको थियो। त्यस अवधिमा फासीवादी विचारहरुविरुद्ध जुझ्न र साम्यवादी विचारको विकास एवं प्रचारमा ग्राम्शीले मूख्य भूमिका खेलेका थिए। ग्राम्शीलाई २० शताब्दीको पूर्वाधका प्रख्यात मार्क्सवादी विचारक मानिन्छ।
ग्राम्शीको जन्म २२ जनवरी १८९१ मा इटालीको सरदनियाको एल्स प्रान्तमा भएको थियो। आन्तोनियो ग्राम्शी फ्रान्सिस्को ग्राम्शी र गिसेपिना मर्सियाका सात बच्चाहरूमध्ये चौंथो थिए। उनको बुबासँग खासै गहिरो र सौहार्दपूर्ण सम्बन्ध थिएन। तर, आमासँग गहिरो सम्बन्ध थियो। आमाको सहज कथाशैली, परिस्थिति अनुरुप लचिलोपन र जीवन्त हास्य उनको व्यक्तित्वमा गहिरो प्रभाव थियो। त्यहीबाट उनले प्रारम्भिक शिक्षा र क्रान्तिकारी गुण हासिल गरेका थिए।
ग्राम्शी बाल्यकालदेखि नै क्रान्तिकारी स्वाभावका थिए। त्यही स्वाभावका कारण उनी सानैदेखि कम्युनिष्ट सिद्धान्तप्रति आकर्षित भए। उनी क्रान्तिकारी गतिविधिमा संलग्न हुने र फासीवादी सत्ताका विरुद्ध गतिविधि गर्न थाले। उनका गतिविधिलाई इटालियन सत्ताले शंकाको नजरले हेरिरहेको थियो। त्यसै अवधिमा उनले मार्क्सवादी दर्शन र क्रान्तिकारी विचारको अध्ययन र व्यवहािरक प्रयोगको जग बसाले। युवावस्थामा उनको दर्शन र राजनीतिशास्त्रप्रति गहिरो रुचि देखियो।
१९२८ मा क्रान्तिकारी गतिविधिहरूको लागि इटालियन फासिस्ट अदालतले ग्राम्शीलाई २० वर्ष कैदको सजाय सुनायो। ग्राम्शीले मार्क्सवादबाट आफ्नो सामाजिक र राजनीतिक सोचमा प्राप्त क्रान्तिकारी चेतनालाई व्यवहारिक जीवनमा अभिव्यक्त गरे। ग्राम्शीको सोच र लेखनलाई दुई कालखण्डमा विभाजन गरिएको छ, पूर्व कारावास (१९१०–१९२६) र जेल सजाय (१९२९–१९३५)। त्यस कालखण्डमा उनले राजनीति र विचारधाराका क्षेत्रमा गहन सैद्धान्तिक मन्थन गरे। जेल पर्नुअघि ग्राम्शीको लेखनको मुल प्रवृत्ति राजनीतिक प्रकृतिको थियो। तर, जेल जीवनपछि उनले लेखनले ऐतिहासिक, सैद्धान्तिक र दार्शनिक मोड लियो। त्यस अवधिमा दर्शन र विचारधाराका क्षेत्रमा ग्राम्शीले गहन रुपमा कलम चलाए।
बीसौं शताब्दीको तेस्रो दशकमा युरोपका अधिकांश कम्युनिष्ट पार्टीहरु मार्क्सवादलाई शास्त्रीय दृष्टिले हेर्ने र मार्क्सवादलाई यान्त्रिक गतिमा बुझ्ने ग्राम्शीले निष्कर्ष निकाले। त्यस बेलाका यूरोपियन कम्युनिष्ट पार्टीका विचारहरुलाई ग्राम्शीले यान्त्रिकता र जडताको अर्थमा विश्लेषण गरे। तर, यूरोपका केही कम्युनिष्ट पार्टी र नेताहरुले ग्राम्शीमा दक्षिणपन्थी बिचलन देख्दथे। ग्राम्शीको कलमले यूरोपको कम्युनिष्ट आन्दोलनमा यान्त्रिकता र दक्षिणपन्थको बहस पनि पेचिलो बन्दै गयो।
ग्राम्शीको संयन्त्रवादी दार्शनिक विचारधारालाई उजागर गर्नमा महत्वपूर्ण भूमिका खेल्यो। दर्शनको क्षेत्रमा ग्राम्शीले ऐतिहासिक भौतिकवादका समस्याहरूमा ठूलो ध्यान दिए। कारागारमा लेखिएका जेल नोटबुकहरू ग्राम्शीको विचारधारा र सैद्धान्तिक लेखनका प्रतिनिधि कागजातहरु उनको विचारका मुल पक्षहरु हुन्, त्यसमा उनले सर्वहारा वर्ग र बौद्धिक समुदायबीचको सम्बन्ध र आधार संरचनाको अन्वेषण गरेका छन्।
उनका कृतिहरुमा विचारधाराको सापेक्ष स्वतन्त्रता (दर्शन, कला, नीति, आदि) राम्ररी अध्ययन र विश्लेषण गरिएको छ। इटालियन संस्कृति, क्याथोलिकवाद, क्रोचेको अभिव्यक्तिवादी दर्शन र समाजशास्त्रमा उपनामवादी सिद्धान्तहरूको आलोचना ग्राम्शीको अध्ययनले मार्क्सवादी चिन्ताको महत्वपूर्ण स्थान ओगटेको छ। यद्यपि, ग्राम्शीका विचारहरुले सार्वभौम विज्ञानका प्रारुपभन्दा बहस र मन्थनको माग गरेका छन्, जसले आजको यूरोपको कम्युनिष्ट आन्दोलनमा पनि गुरुत्वपूर्ण अर्थ राख्दछन्।
कारागारको दौडान फासीवादी शक्तिहरूले निरन्तर ग्राम्शीलाई प्रजातान्त्रिक विचारधारा प्रतिबिम्बित गर्नबाट रोक्न खोजे। लगातार अवरोधहरूको प्रतिरोध गर्दै ग्राम्शीले ‘जेल नोटबुक’मा सोच्ने प्रक्रियामा नयाँ स्वसन्दर्भित शब्द ‘सबाल्टर्न’ प्रयोग गरेका छन्। यो सूक्ष्मपन्थी समाजको दलित र विपन्न वर्गको अधीनताको प्रतीक हो। सूक्ष्म स्थिति विपन्न वर्गको हित र उपनिवेशवादी वातावरणमा उनीहरूको समस्याको पक्षमा प्रतीक बन्न पुग्यो।
ग्राम्शीको सोचले समानान्तर इतिहास लेख्ने सबल्टर्नको अध्ययन प्रक्रियामा गहिरो प्रभाव पारेको छ। उनका विचारहरु २० औं शताब्दीमा मात्र नभएर २१ औं शताब्दीमा पनि यूरोप र विश्वभरका कम्युनिष्टहरुका लागि अध्ययनको विषय बनेका छन्। आजको ‘यूरो–कम्युनिज्म’को वैचारिक जग र व्यवहारिक अभ्यासको जस तिनै ग्राम्शीलाई जान्छ।
ग्राम्शी जीवनको जम्माजम्मी ४६ वर्ष बाँचे। त्यसमध्ये पनि पछिल्ला आठ वर्ष इटालियन फासीवादी सत्ताको पञ्जाभित्र। तर, त्यस अवधिमा उनले जति विचारहरु प्रस्तुत गरे, त्यसले सिङ्गो यूरोपमा मात्र नभएर विश्वभरि तरङ्ग थियो। २० औं शताब्दीका विचारक ग्राम्शीको निधन २७ अप्रील १९३७ मा इटालीको रोममा भयो।



लाेकपाटी न्यूज

