मन्त्री भट्टराईकाे एक महिना : यी हुन् सन्देशमूलक नाै काम

Yogesh Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको एक महिना पुगेको छ ।

यसबीचमा उनले नेपाल वायुसेवा निगमलगायत मन्त्रालयसँग सम्बन्धित काम र निर्माणाधीन विमानस्थलहरुको बारेमा जानकारी लिने र स्थलगत निरीक्षण गर्ने काम सकेका छन्। मन्त्री भएकाे छाेटाे समयमै उनले धेरै राम्रा काम गरेर उपलब्धी हात पारेका छन्।

‘सामन्ती’ संस्कृतिविरुद्ध आक्रामक

मन्त्री भट्टराईले शपथ तथा पदभार ग्रहण गरे लगत्तै मन्त्रालयमा ‘आइस्यो, गइस्यो’ जस्ता सामन्ती शब्द नबोल्न निर्देशन दिए। अहिले पनि विभिन्न मन्त्रालयमा ‘आइस्यो, गइस्योे’ भन्ने भाषा प्रयोग हुने गरेको छ । मुलतः यस्तो भाषा दरबारमा प्रयोग हुने गरेको थियो । मन्त्री भट्टराईको पहिलो निर्देशन नै यही रहेकोले यो भाषा अहिले मन्त्रालयमा बन्द भएको छ ।

आफ्नै फोटो हटाउन निर्देशन

हिन्दू महिलाहरुको महान् चाड हरितालिकाकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार पशुपतिनाथ दर्शनका लागि पुगिन् । विभागीय मन्त्रीको हिसाबले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि त्यहाँ पुगे राष्ट्रपतिको स्वागतका लागि ।

पशुपतिनाथमा विभागीय मन्त्रीको हिसाबले कार्यकक्ष बनाइएको हुन्छ । कार्यकक्षमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र स्वयं पर्यटनमन्त्री भट्टराईको फोटो राखिएको थियो । आफ्नो तस्बिर देखेपछि मन्त्री भट्टराईले तत्कालै आफ्नो तस्विर हटाउन निर्देशन दिए। पछिल्लो समय विभिन्न उच्च पदस्थहरुले कार्यक्रममा आफ्नो ठूलो फोटो टाँस्ने, पीर्कामा सलामी लिने जस्ता व्यवहार देखाइरहँदा मन्त्री भट्टराईले भने त्यसको विरोध गर्दै आएका छन्।

विपीको नाममा खोइ ?

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्पलालको नाममा स्थापना गरेको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को बिषयमा छलफल थियो । मन्त्री भट्टराईले कर्मचारीसँग साेधे, ‘विपीको नाममा चाहिँ पुरस्कार छैन ?’ यो प्रश्नले कर्मचारीहरु झनै छक्क परे । कांग्रेसका नेताहरु मन्त्री हुँदा समेत नसोधिएको प्रश्न मन्त्री भट्टराईले साेधेका थिए। पुष्पलालको नाममा मात्रै पुरस्कार भएको सुनेपछि मन्त्री भट्टराईले भने, ‘हामीले हाम्रो इतिहासका सबै गौरवहरुलाई सम्मान गर्नुपर्छ । सबैको साझा योगदानले आज हामी यहाँ छौं ।’ मन्त्री भट्टराईको यो भनाईले सबै कर्मचारीहरु प्रभावित भए ।

सबै दलको घोषणापत्र सरकारको सम्पति

मन्त्री भट्टराईले मन्त्री भए लगत्तै मन्त्रालयको कार्यक्रमहरु बारेमा छलफलका लागि सम्बन्धित सबैलाई छलफलमा बाेलाए। त्यसक्रममा उनले कर्मचारीहरुलाई साेधे, ‘हाम्रा कार्यक्रमहरु के–का आधारमा बन्छ ? बजेट तथा नीति कार्यक्रमका आधारमा ?’, कर्मचारीबाट जवाफ आयो, ‘अनि माग र आवश्यकताको आधारमा ।’

कर्मचारीहरुको उत्तरले मन्त्री भट्टराई सन्तुष्ट भएनन् र तत्कालै निर्देशन दिए, ‘सरकारको नीति कार्यक्रमसँगै प्रमूख दलका घोषणापत्रमा पर्यटनको विषयमा उल्लेख विषय र प्रतिबद्धता पनि हेर्नुहोस्। सत्तारुढ दल नेकपाको मात्रै होइन, अन्य दलहरुको विषय र प्रतिबद्धता पनि हेर्नुहोस् ।’

यसअघि कुनै पनि मन्त्रीले अरु दलका घोषणापत्र पनि हेर्न सुझाएका थिएनन् । मन्त्री भट्टराईले थप सुझाव दिए, ‘सबै दलले अध्ययन गरेर नै योजना र प्रतिबद्धता तयार पारेका हुन्छन् । सबै दलका राम्रा योजना र सपना नै सरकारको योजना बन्नुपर्छ । सबै दलको सपना र प्रतिबद्धता सरकारको सम्पति हो । हामी सबैको सरकार हो ।’

सबै राजनीतिक दलका सकरात्मक योजनाहरुलाई कार्यान्वयनमा लैजान सकिए परिवर्तन ठोस हुने मन्त्री भट्टराईको बुझाई छ । ‘जो कोहीले देश र जनताको पक्षमा बनाइएका असल योजना र कार्यक्रम सरकारको सम्पति हो,’ उनकाे भनाइ छ।

सचिवालयमा भावनात्मक एकताको सन्देश

अहिले नेकपाको नेतृत्वमा सरकार छ । नेकपा अर्थात् तत्कालिन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र मिलेर बनेको एकीकृत पार्टी । तर, सबै मन्त्रालय एकीकृत पार्टीको जस्तो छैन । पूर्वमाओवादी नेता मन्त्री भएको मन्त्रालयको सचिवालयमा पूर्वमाओवादीका कार्यकर्ता मात्रै छन् । एकाधबाहेक पूर्वएमाले मन्त्री भएको मन्त्रालयको सचिवालयमा पूर्व एमालेका कार्यकर्ता मात्रै राखिएका छन् । तर, मन्त्री भट्टराईले भावनात्मक एकता हुने गरी सचिवालयमा पूर्व एमाले र माओवादीबाट सहयोगी टीम राखेका छन्।

मन्त्री भट्टराईले सचिवालयमा तत्कालिन एमाले निकट ताप्लेजुङ्ग– काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र तत्कालिन माओवादी निकट जनसम्पर्क समितिका अध्यक्ष डण्डु शेर्पा राखेका छन् । पार्टी एकताको भावनात्मक सन्देश दिने गरी उनले सचिवालय बनाएका हुन्।

सबैको इतिहास सम्मान

एमाले र माओवादीबीच एकता भए पनि भावनात्मक एकता अझै भइनसकेको देखिन्छ । नेता तथा कार्यकर्ताहरुले एक अर्काका विगतलाई कोट्याएर आरोप प्रत्यारोप पनि हुने गरेको छ । तर, भट्टराई मन्त्री भए लगत्तै तत्कालिन एमालेको कार्यालय रहेको बल्खु र तत्कालिन माओवादीको कार्यालय पेरिसडाँडा पुगे । पेरिसडाँडा पुगेर उनले जनयुद्धका सहिदहरुलाई सम्झिए।

कर्मचारीलाई सकारात्मक सोचको तालिम

नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरुको व्यवाहार र शैलीलाई बारम्बार आलोचना हुने गरेको छ । कर्मचारीहरूको ‘सकारात्मक सोच’ बिकासका लागि मन्त्री भट्टराईले प्रशिक्षण नै सुरु गराएका छन्

मन्त्री भट्टराईले सेवाग्राहीहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरूको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए। ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरूको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास उनकाे छ । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरू सहभागी छन् ।

गल्ती गर्ने ‘न आफ्नो, न बिरानो’

मन्त्री भट्टराईले गलत काम गर्ने जो कोहीलाई कारबाही गर्ने प्रष्ट नीति लिएका छन् । उनले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने सम्पर्क अधिकृत (लियोजन अफिसर)लाई कारबाही गर्ने बताएका थिए। यही क्रममा पयर्टन विभागले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने १५ जना सम्पर्क अधिकृतसँग स्पष्टीकरण सोधेको छ ।

विभागले १५ दिनभित्र स्पष्टीकरण बुझाउन प्रत्येक कर्मचारीलाई छुट्टाछुट्टै पत्र पठाएको हो । आरोहीसँग सगरमाथा आरोहणमा जाने सम्पर्क अधिकृतले आफू बेस क्याम्पमै नपुगी आरोहीलाई सगरमाथाको चुचुरामा पुगेको प्रमाणित गरेको समाचार आएको थियो ।

मन्त्री भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ । आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिनुभएको थियो । लगतै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।

विपक्षी दलका नेतालाई कामबारे जानकारी

मन्त्री भट्टराईले गत शनिवार (भदौ १४, २०७६) मा विपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको बुढानिलकण्ठस्थित निवासमै पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालयको काम र भावी योजनाका बारेमा जानकारी गराएपछि सवैको ध्यान त्यतैतिर गयो ।

प्रतिपक्षी दलका नेतालाई मन्त्रीले भेटेर आफ्नो मन्त्रालयको बारेमा जानकारी दिएको र सुझाव लिएको यो सम्भवतः पहिलो घटना थियो । मन्त्री भट्टराईको यो कदमलाई धेरैले नयाँ र असल राजनीतिक संस्कारको रुपमा प्रशंसा गरे । स्वयं देउवाले भट्टराईको योजनालाई साथ दिने घोषणा गरेर सवैबाट यस्तो संस्कारको थालनी हुनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्