काठमाडौं, ३१ भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ।
बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि रहेको विप्लव नेकपाको गोप्य कार्यालयमा प्रहरीले छापा मारेहको हो। कार्यालयबाट महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले कार्यालयबाट दुई वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरेको छ।
सोमबार दिनभर १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन्। पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ।
यो गिरफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन्। जिल्ला प्रहरी कार्यालय, झापा स्रोतका अनुसार उनीहरुबाट बरामद कागज पत्रले विप्लव नेकपाको थप योजनाबारे पनि प्रस्ट पारेको छ। प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको बताइएको छ।
उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै व्यवसायीलाई चन्द माग गरिएको खुलेको छ।



लाेकपाटी न्यूज

