काठमाडौं, ३० भदौ। सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्। संसदीय समितिले सरकारको काममाथि नियन्त्रण गर्ने नभई निगरानी मात्रै राख्ने भएको सभामुख महराको भनाइ थियो।
संघीय संसद सचिवालयले सोमबार संसद भवन नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले संसदीय समितिबाट सरकारलाई अप्ठ्यारोमा पार्ने काम भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गुनासो गरेको पनि महराले बताए। सभामुख महराले सरकारलाई अप्ठेरो पार्ने काम नगर्न सांसद र संसदीय समितिहरुको ध्यानाकर्षण गराए।
सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठीक ट्रयाकमा लैजान संविधान, नियम र कानून अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे ।
सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भएपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको बताए। संविधानको अध्ययन गरेर सो अनुसार कानून, ऐन, निर्देशिका निर्माण भए\नभएको कडा निगरानी राख्न पनि सभामुख महराले सांसदहरुलाई निर्देशन दिए।



लाेकपाटी न्यूज

