एजेन्सी। आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ। राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ।
पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँमा यो दुर्घटना आइतबार दिउँसो भएको हो। डुङ्गामा सवार ६१ मध्ये ५० पर्यटक थिए बाँकी कर्मचारी थिए। मानिसहरु गोदावरी नजिकै पापीकोंडालु पहाडमा घुम्नका लागि जाँदै थिए।
डुङ्गामा सवार २० जना सुरक्षा ज्याकेट (लाइफ ज्याकेट) लगाएर स्थानीयको मद्दतमा किनारासम्म पुग्न सफल भए। पूर्वी गोदावरी जिल्लाका पुलिस सुप्रिटेन्डेन्ट नईम हाशमीले अहिलेसम्म तीन जनाको शव भेटिएको जानकारी दिएका छन्।
नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को ३०–३० सदस्य भएको दुई समूह राहत र उद्दारकार्यमा जुटेका छन्। आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले प्रभावित परिवारलाई जनही १० लाख भारुको मद्दत दिने घोषणा गरेका छन् ।
उनले यसबाहेक अधिकारीलाई उद्दार कार्यमा नेवी र ओएनजीसीको हेलिकोप्टरको मद्दत लिनका लागि पनि भनेका छन्। तेलंगानाको वारंगल जिल्लाका एक युवकले उनीसँग गएको १४ जनाको समूहमा ९ जना अहिले पनि हराइरहेको जानकारी दिए। पूर्वमुख्यमन्त्री एन चन्द्रबाबू नायडूले उक्त घटनापछि आफू स्तब्ध भएको र प्रशासनलाई उद्दारकार्यमा तीब्र गती लिन अपिल गरेका छन्।



लाेकपाटी न्यूज

