काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको स्पष्ट पारेका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यविभाजन हुने बताए। उनले भने, ‘एक व्यक्ति, एक पदको प्रणालीमा जानुपर्छ भन्ने बहस सुरु भएको छ। यो हुँदा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ र पार्टीको नेतृत्व अब प्रचण्ड गर्नुपर्छ भन्ने चरणमा नेकपाभित्र छलफल सुरु हुन्छ ।’
उनले पार्टीभित्र अब कार्यविभाजनको अवधारणाबारे बहस सुरु भएको बताए। उनले भने, ‘पार्टी एकताको समझदारीमा नै पार्टीको नेतृत्व एक अध्यक्षले र सरकारको नेतृत्व अर्को अध्यक्षले गर्ने भएकोले त्यहीअनुसार अघि बढ्छौं। हामी पार्टीभित्र शक्ति सन्तुलन गरेर अघि बढ्छौं।’
थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको बताए। उनले भने, ‘जनताले आफूले भनेजस्तो अनुभुति गर्न नसकेको कुरा केही सत्य हो। तर, गणतन्त्रलाई असफल बनाउने कोशिश भैरहेको छ। गणतन्त्रको विकल्प छैन्। यसमा पनि केही कमिकमजोरीहरु छन् । भएका कमजोरीहरुलाई सुधार गरेर जानुपर्छ।’
उनले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको बताए। जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउने उनको विश्वास छ। त्यस्तै, उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न भैरहेको बताए। उनले भने, ‘अहिलेपनि अराजकताका स्वर सुनिएका छन्। यी सबैलाई संविधानको भावनाअनुसार समझदारीमा ल्याउन आवश्यक छ।’ विप्लव समूहसँग अघोषित रुपमा सरकारले वार्ता गरिरहेको थापाले जनाए। उनले भने, ‘विप्लवसँग वार्ता गर्नुपर्छ भन्ने नै हाम्रो नीति हो। अघोषित रुपमा वार्ता भैरहेको छ।’
त्यस्तै, उनले मुलुकमा भ्रष्टाचार मौलाएको भनेर पनि आवाज सुनिएको बताए। उनले भने, ‘केही हदसम्म यो प्रवृत्ति देखिएको छ। हाम्रो पार्टी यो विषयमा गम्भिर छ। हामी भ्रष्टाचारमा शून्य सहनसिलता अपनाएर अघि बढिरहेका छौं।’ उनले सरकार अब सही ट्रयाकमा अघि बढ्ने पनि स्पष्ट पारे।
सरकारमा भएका केही मन्त्रीहरुको प्रस्तुति र कार्यशैली त्यति राम्रो नभएको भनेर बाहिर टिकाटिप्पणी भएको कुरा सत्य भएको सुनाउँदै अब फ्रेश युवाहरुलाई मन्त्री बनाउने पनि थापाले बताए। उनले भने, ‘जनतासामू सर्भिस डेलिभरी प्रभावकारी रुपमा हुनुपर्छ। त्यसको लागि मन्त्रिमण्डल पूनर्गठन गरेर पनि अघि बढ्नुपर्छ। पार्टीभित्र त्यो विषयमा पनि छलफल भैरहेको छ।
केही मन्त्रीहरुको विरोध भएको छ। उनीहरुलाई परिवर्तन गर्नुपर्छ । पार्टीभित्र अब प्रमूख टास्कको रुपमा यो विषयमा पनि छलफल हुनेछ।’ उनले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने जिकिर गरे। यद्धपी जति काम हुनुपर्ने थियो त्यति चाहिँ नभएको उनको गुनासो थियो।



लाेकपाटी न्यूज

