नारायणी नदीमा मिनी पानी जहाजको परीक्षण

Narayanima pani jahaj
लाेकपाटी न्यूज

चितवन, २९ भदौ। नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैअघि गरिने भएको छ। सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै मिनी पानी जहाजको परीक्षण यात्रा दसै अघि गर्ने तयारी गरिएको हो।

क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कंडेलले बताए। सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल भित्रने छ। इन्जिन जडानलाई धेरै समय नलाग्ने भएकाले सजावट र रङरोगनको काम १५ दिनभित्र सम्पन्न गरी नदीमा परीक्षण गरिने कंडेलले जानकारी दिए।

उक्त परीक्षण पछि नियमित सञ्चालन भने दशैपछि मात्र गर्ने तयारी गरिएको छ। क्रुजमा २०० जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ। भरतपुर महानगरपालिका १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ। ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्