बीआरआई नेपालको विकासका लागि वरदान सावित हुनसक्छः नेता सापकोटा

Agni Sapkota
लाेकपाटी न्यूज

काठमाडौँ, २९ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नी सापकोटाले नेपालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालका लागि वरदान साबित हुन सक्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी सङ्गठनले आज काठमाडौँमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विषयमा बहस सुरु गरेको छ।

सोही बहसमा उनले नेपालको समृद्धि र विकासका लागि वरदान साबित हुन सक्ने तर्क गरेका हुन्। उनले भने,’बीआरआई यो शताब्दीको महत्त्वपूर्ण कार्यक्रम हो। यसबारेमा राष्ट्रिय बहसको थालनी भएको छ। सुखी नेपाली समृद्ध नेपाल नाराका साथ हामी अघि बढेका छौँ। यसका लागि बीआरआई वरदान साबित हुन सक्छ।’

बिआरआई सफल हुनेमा कुनै दुबिधा नरहेको समेत उल्लेख गर्दै उनले हामीले पनि यसका लागि शक्तिशाली संयन्त्र निर्माण गरेर काम गर्नु पर्ने तर्क गरे। उनले भने, ‘चिनियाको तयारी देख्दा यो सफल हुने देखिन्छ। हामीले पनि यस सम्बन्धी बहस सुरु गरेका छौँ। यहाँ पनि शक्तिशाली संयन्त्र बनाएर काम गर्नु पर्छ।’

विश्व भाइचारा बढाउन, शान्ति र आर्थिक विकासका लागि यो अगाडी आएकोले यस प्रति संसारको आकर्षण बढिरहेको समेत उल्लेख गरे। उनले बिआरआईको विषयमा सिरिजका रूपमा बहस चलाउनले बताए।