कांग्रेसको ज्ञापनपत्र बुझ्दै गृहमन्त्रीले भने, ‘बाँके घटनाका दोषीलाई कारबाही हुन्छ’

Ram_Bahadur_Thapa
लाेकपाटी न्यूज

काठमाडौं, २८ भदौ। गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारबाही गर्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले शनिबार बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने बताएका हुन्। उनले भने, ‘नहुनु पर्ने घटना भएको छ, दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ।’

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारबाही हुने बताए। घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनले बताए।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले काङ्ग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए। काङ्ग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारबाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ।

उक्त घटनामा परी काङ्ग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए। कोइरालाको हात भाँचिएपछि उनका छोराले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध किटानी जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्